Birendranagar Municipality

राणाकालमै दरबार पठाइन्थ्यो जुम्ली मार्सीको चामल, यस्ता छन् फाइदा

शुभाकर विश्वकर्मा/जुम्ला
राणाकालमै दरबार पठाइन्थ्यो जुम्ली मार्सीको चामल, यस्ता छन् फाइदा

१६ साउन । हाल सडक, शहर र सदनसम्मै चर्चा चलेको छ जुम्ली मार्सीको । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले एकै टेबलमा बसेर मार्सी चामलको भात खाएको समाचार बाहिर आएदेखि यो विषयले चर्चा पायो ।

 

उनीहरुलाई मार्सीको भात खुवाउने व्यक्ति हुन् प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं । जो अहिले पनि विवादको शीर्ष स्थानमा छन् ।

 

मेडिकल शिक्षामा सुधारको माग राखी पटक पटक अनशन बसेका डा. गोविन्द केसीले १५ औं अनशनको शुरुवात जुम्लाबाट गरेका थिए । डा. केसीको सत्याग्रहले सबैको ध्यान तानेको बेला मार्सी चामलको भात खाने ओली, दाहाल र प्रसाईंलाई भिलेनको रुपमा प्रस्तुत गरियो ।

 

मानौं मार्सी चामलको भात खानु अपराध हो । उनीहरुले मार्सीको भात खाएर राज्यद्रोह गरे । यद्धपी प्रधानमन्त्री ओलीको पहलमा डा. केसीका सबै माग सम्बोधन भैसकेका छन् ।

 

विशेष गरी जुम्ला र कर्णालीकै पहिचान बनेको मार्सी चामलको इतिहास भने शताब्दी पुरानो छ । आन्दोलनको दौरानमा मार्सीलाई कसले कसरी बुझे त्यो बेग्लै कुरा हो । तर यसले कर्णालीको पहिचान, पर्यटन र उत्पादनमा श्रीबृद्धि हुने अपेक्षा गरिएको छ ।

 

जुम्ली काली मार्सीको इतिहास

M1

आज भन्दा झण्डै एक हजार वर्ष अघि जुम्लामा चन्दननाथ मन्दिरको स्थापना भएदेखि काली मार्सी धानको खेती गर्न थालिएको हो । १०९८ सालदेखि चन्दननाथ बाबाले जुम्ला तातोपानी गाविसको लाछु ज्युलोमा रहेको सानो फोक्टामा जुम्ली मार्सी धानको विउ राखेको जनश्रुती छ ।

 

यही परीक्षणपछि १११२ सालदेखि जुम्ला जिल्ला भर काली मार्सी धान खेती गर्न शुरु गरिएको हो । जुम्लामा तत्कालीन कल्याल राज्यको व्यवस्थापनमा मार्सी धानको अनुसन्धान थालिएको स्थानीय बुढापाका बताउँछन् ।

 

पहिले 'एक मुरी' खेतमा एक क्विन्टल धान उत्पादन हुन्थ्यो । २०४४ सालदेखि धानमा विभिन्न प्रकारका रोग लाग्न थालेपछि त्यो घटेर १५ केजीमा झरेको छ । जुम्लामा धान खेती बेशी क्षेत्र (समुद्र सतहबाट २००० देखि २२०० मिटर), मध्य क्षेत्र (समुद्र सतहबाट २२०० देखि २८०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८०० देखि ३०५० मिटर) मा हुने गरेको छ । यो धानबाली संसारको सवैभन्दा उच्च स्थान (२७ सय ९० मिटर) जुम्लाको पातारासी गाउँपालिकाको छुुमचौर ज्युलोमा फल्छ ।

 

संसारमा रातो रङको चामल दस प्रजातिभन्दा बढी छैन । जुम्लाको मार्सी चामल तिनैमध्ये एक हो । विभिन्न स्रोतका अनुसार काली मार्सी धान उत्पादनका लागि तापक्रम माइनस ४ डिग्री सेल्सियससम्म हुनुपर्छ । यो धान नेपाल, भुटान, भारत, पाकिस्तान लगायतका देशका हिमाली क्षेत्रमा फल्ने गर्दछ ।

 

नेपालमा कसले भित्र्यायो ?
काली मार्सी धान जुम्लामा पहिलो पटक चन्दननाथ बाबाले भित्र्याएको बताइन्छ । तर, नेपालमा मार्सी धान कहिले भित्रियो भन्नेबारेमा स्पष्ट छैन । त्यसो त चन्दननाथ बाबाले पनि कहिले र कहाँबाट यो धानको विउ ल्याए भन्ने एकीन छैन । बाली विज्ञका अनुसार यो १४ औं शताब्दीभन्दा पहिले हुन सक्ने अनुमान छ ।

 

जुम्लाको सस्कृति सम्बन्धी जानकार रमानन्द आयार्यले भने–‘चन्दननाथ बाबाले भारतको काश्मिरबाट यो धान पहिलोपल्ट ल्याएर जुम्लाको छुमजुल भन्ने ठाउँमा लगाएको भन्ने इतिहास छ । तर कहिले भन्ने पाइँदैन ।’ नेपाललाई विश्वमा चिनाउने मध्येकै एक धान प्रजाति भएकोले नेपालमा धानको इतिहास निकै पुरानो भएको धानबाली विज्ञ भोलामानसिंह बस्नेत बताउँछन् ।

 

कतिपयले १२ औं शताब्दीमा काली मार्सी नेपालमा भित्रिएको बताउँछन् । भारतको जम्मु काश्मिरबाट गुरु महाराज (चन्दननाथ बाबा)ले ल्याएको हो भनेर वुढापाका भन्छन् । ‘गुरु महाराजले ल्याएको भनेर अहिले पनि हामीले वर्षको एकपाथी काली मार्सीको चामल गुरु महाराजलाई दिन्छौं (चढाउछौं)’, जुम्लाका स्थानीय मनसा पाण्डेले सेरोफेरोसंग भने ।

 

जुम्ला समुद्री सतहदेखि १० हजार फिटसम्मको उचाइमा छ । जहाँ माइनस ४ डिग्रीसम्म तापक्रम हुन्छ । यो काली मार्सी धान पनि त्यस्तै चिसो ठाउँमा प्रशस्त फल्ने धानका रुपमा चिनिन्छ । त्यस बाहेक काठमाडौं अर्थात मध्य पहाडका केही जिल्लामा मार्सी धान लगाउने गरिए पनि जुम्लामा जस्तो नफलेको बस्नेतको भनाई छ ।

 

कहाँ कहाँ फल्छ काली मार्सी?

जुम्लाको गुठीचौर र बुम्रमाडीचौर बाहेक प्रायः सबै गाउँहरुमा यो धानको उत्पादन हुँदै आएको छ । कृषि कार्यालय जुम्लाका अनुसार कुल धानखेत हुने क्षेत्रफल २,९५० हेक्टरमध्ये १३०० हेक्टरमा कालीमार्सी धानको उत्पादन हुन्छ ।

 

जुम्लाको सबैभन्दा उच्च स्थान छुमचौर र हाकुमा पनि किसानले यो जातको धानको उत्पादन गर्दै आएका छन् । यस्तै तातोपानी गाउँपालिकाको लाछु ज्युलोमा पनि काली मार्सीको खेती गरिन्छ । काली मार्सीलाई चिसो मौसमका साथै धेरै पानी चाहिन्छ ।

 

उत्पादन घटेसंगै किसानले मार्सी धान लगाउन छाडेका छन् । पछिल्लो समय कालीमार्सीमा ब्लास्ट रोगको संक्रमण बढेपछि लोप हुने अवस्थामा पुगेको छ ।

 

कार्यालयका योजना अधिकृत बालकराम देवकोटाका अनुसार जुम्ला सदरमुकाम खलंगामा कालीमार्सी चामल प्रति केजी १५० रुपैयाँमा बिक्री हुने गरेको छ । उनका अनुसार यो चामल काठमाडौं, सुर्खेत र बाँकेमा प्रतिकेजी दुई सय रूपैयाँमा बिक्री हुन्छ । जुम्लाको चन्दननाथ मन्दिरमा देउतालाई चढाउन, होम गर्न तथा अक्षता बनाउन पनि यही चामल प्रयोग गरिन्छ ।

 

राजा र प्रधामन्त्रीलाई हुलाक मार्फत चामल

M3
जुम्लाका ज्येष्ठ नागरिक ७६ बर्षीय मनसा पाण्डेका अनुसार उनी सानो हुँदादेखि नै एकपाथी चामल गुरु महाराजलाई भनेर चढाइन्थ्यो । त्यो प्रचलन अहिले पनि कायमै छ । पाण्डे भन्छन्, ‘पहिलो पटक कुटेको चामल चन्दननाथ बाबाको मन्दिरमा पठाउनुपर्थ्यो । यसबाहेक काठमाडौंमा पनि राणा प्रधानमन्त्रीलाई जुम्लाबाटै काली मार्सीको चामल पठाउने प्रचलन थियो ।’

 

१९०४ सालमा जंगबहादुर प्रधानमन्त्री छँदा हुलाकबाट प्रतिदिन एक माना कालीमार्सी चामल पठाउने गरेको संस्कृतिविद्हरुको भनाई छ । यो क्रम मोहनशम्शेरको पाला (२००७ साल) सम्म जारी थियो । जग्गाको भोगचलन गरेवापत राज्यलाई बुझाउनुपर्ने तिरो पनि चामल नै थियो ।

 

परम्परागत शैलीमै उत्पादन
जुम्ली काली मार्सीको धानको ब्याड राख्ने र काट्नै आफ्नै मौलिक शैली र परम्परा छ ।

 

प्रत्येक वर्ष चैतको १२ गते काली मार्सी धानको बीउ भिजाइन्छ । चार दिनसम्म भिजाएर राखेपछि १६ गते बाहिर निकालिन्छ । फेरि त्यसलाई चार दिनसम्म सुकाएर राखिन्छ । प्रत्येक वर्ष चैतको २० गते मात्रै चन्दननाथ बाबालाई सम्झेर (खेतमा पूजा गरेर) ब्याड राखिन्छ ।

 

‘चैत १२ गते खला रुझाउँछौं (पानीमा भिजाउँछौं) र १६ गते उतार्छौं । बिहान बिहान पानी दिन्छौं । २० गते खेतमा बिउ राख्छौं । बिउ तयार भएपछि जेठमा रोपिहाल्छौं । असारमा गोड्छौं । कात्तिकमा ढाल्छौं । १, २ दिन सुकाएर हातैले झार्छौं र घरमा ल्याउँछौं’, स्थानीय किसान लालसरा कुलालले भनिन् ।

 

कुलालका अनुसार धान काट्न विशेष दिन पारिन्छ । उनले भनिन्– ‘बुधबार या शुक्रबार पारेर मात्रै हामीले धान काट्न शुरु गर्छौ ।’ जम्मु काश्मिरबाट बिउ ल्याएर बुटी दिएबापत प्रत्येक वर्ष गुरु महाराजलाई चढाउने गरेको पनि उनी बताउँछिन् ।

 

जुम्लामा मार्सी धान रोप्ने बेलासम्म पनि विदेशिएको युवा नआए अब फर्केर कहिल्यै आउँदैन भन्ने किंवदन्ती छ ।

 

विकल्प खोज्दै किसान

M2
केही वर्ष अघिसम्म जुम्ला चन्दननाथ नगरपालिका–७ का लक्षिराम महत जुम्ली कालीमार्सी धान लगाउँथे । हाल उनी उन्नत जातको धान खेती गर्छन् । कालीमार्सीमा ब्लास्ट रोगको संक्रमण देखिएपछि विकल्पमा उनले उन्नत जातको धान लगाएको बताए ।

 

जुम्ली मार्सीको साटो कृषि अनुसन्धान केन्द्र, जुम्लाले चन्दननाथ १ र चन्दननाथ ३ जातको धान सिफारिस गरेको छ । पछिल्लो समय जिल्लाका अधिकांश किसानले उन्नत जातकै धान खेती गर्दै आएका छन् । उन्नत जातको धान स्वादिलो, असिनाले झार्न नसक्ने, बोट होचो र उत्पादन धेरै हुने भएकाले किसानको रोजाइमा परेको महतको भनाई छ ।

 

सेतो चामल खाने बाध्यता
निकै पोषिलो र अत्याधिक कार्बोहाइड्रेट भएको काली मार्सी स्वास्थ्यवर्धक पनि मानिन्छ । भात खाँदा यसको स्वाद पनि रसिलो हुन्छ ।

 

अहिले मार्सी चामलको भात चाख्न खोज्नेहरुको जमात जुम्लामा पनि बढिरहेको छ । चामलको माग बढेकाले जुम्लादेखि कालीमार्सी धान ल्याएर काठमाडौंमा व्यावसाय गर्नेलाई समेत भ्याइनभ्याइ छ ।

 

लामो समयदेखि काठमाडौंमा बसेर काली मार्सी चामलको व्यापार गर्दै आएका जुम्लाका शिव न्यौपानेलाई यतिबेला उपभोक्ताहरुको माग धान्नै सकस छ । ‘हामीले सानो परिमाणमा मात्रै जुम्ली चामलको ब्यापार गर्दै आएका थियौं’, न्यौपानेले भने, ‘पछिल्ला केही दिनयता चामलको माग ह्वात्तै बढेको छ । तर उपभोक्ताको माग अनुसार हामीसँग चामल छैन ।’

 

हाल काली मार्सीमा विभिन्न रोग लाग्ने तथा जलवायु परिर्वतनले गर्दा पनि धान उत्पादन घट्दै गएकोले जुम्लाका जनता पनि आयातित सेतो चामल खान बाध्य छन् । चन्दननाथ नगरपालिका ३ का मानविरे सार्की भन्छन्, ‘हाम्रो बाल्य अवस्थामा यस्तो चामल नै थिएन । अहिले गाडी आएदेखि सेतो चामल भित्रिएको हो । सेतो चामलमा स्वाद पनि राम्रो छैन । तर पनि यही चामल खान बाध्य भएका छौं ।’

M4

२०७५ साउन १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्