२० साउन । रुकुम पश्चिमको चौरजहारी अस्पतालमा एक विरामीको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् ।
जाजरकोट भेरी नगरपालिका १३ की २९ वर्षीया यशोदा मल्ल रोकायको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।
मृगौलामा संक्रमणको समस्या भएकोले चार दिनअघि अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी रोकायको बिहान एक्कासी मुटको धडकन बढेर उपचारको क्रममा मृत्यु भएको अस्पतालका डाक्टर कालेव बुढाले जानकारी दिए ।
मृतकका आफन्तहरुले भने सामान्य मृगौलाको संक्रमण भएर अस्पतालमा उपचार गराई रहेकोमा डाक्टरले गलत सुई लगाउँदा मृत्यु भएको आरोप लगाएका छन् ।
घटनापछि आक्रोशित बनेका मृतकका आफन्तहरुले अस्पतालका सीसाहरु तोडफोड गरेका छन् । तोडफोडका कारण अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ ।
अस्पतालका डाक्टरले अस्पतालबाट गलत सुईको प्रयोग नभएको दावी गर्दै छानविन गर्न तयार रहेको र यदि कमजोरी भएको खण्डमा कारबाही भोग्न तयार रहेको बताएका छन् ।
तनावग्रस्त स्थितिलाई समाधान गर्न प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ ।
अस्पतालमा भएको उक्त आन्दोलनले भर्ना भएका अन्य बिरामीहरुको उपचार सेवा समेत प्रभावित बनेको छ ।
प्रतिकृया दिनुहोस्