२१ साउन । विकट पहाड र डाँडाकाँडा भएको कर्णाली प्रदेशको विकासमा टिबिएम प्रविधि उपयोगी हुने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताएका छन् ।
सोमबार राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको अनुगमनका क्रममा पत्रकारहरुसंग शाहीले उक्त कुरा बताएका हुन् । उनले भने, ‘कर्णाली प्रदेशमा विकासका नयाँ आयामको प्रयोग अनिवार्य छ । भेरी बबई डाइभर्सनबाट पनि कर्णाली सरकारले धेरै सिक्न सक्छ ।’
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले पनि कर्णलीको विकासका लागि यस्तो प्रविधि निकै महत्वपूर्ण हुने धारणा राखिन् । उनले भनिन्, ‘यस प्रदेशका सडक निर्माण तथा जलविद्युत् परियोजनका लागि यस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ ।’
कर्णाली प्रदेशमा रहेको उक्त परियोजनाको अनुगमनमा कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती लगायत केही सांसदहरु गएका थिए ।
के हो टिबिएम?
टनेल बोरिङ मेसिन (टीवीएम) सुरुङ निर्माण गर्ने अत्याधुनिक प्रविधि हो । यही मेसिनको सहायतामा परियोजनाले ८ महिनामा ६ हजार ५ सय मिटर सुरुङ खनेको छ ।
राष्ट्रिय गौरवको उक्त परियोजनामा १ महिना लगाएर मेशिन जडान गरेपछि २०७४ कात्तिक २० गते (नोभेम्वर–६) बाट टीवीएम प्रयोग गरिएको थियो ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) रुक्मांगद खनालले भने, ‘आठ महिनामा टीवीएममार्फत सवा ६ किलोमिटर सुरुङ खन्न हामी सफल भएका छौं ।’ यही गतिमा काम भएमा तोकिएकै समयमा सुरुङ खन्ने काम सम्पन्न हुनेपनि खनालले बताए ।
चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले उक्त आयोजनाको ठेक्का लिएको छ ।
परियोजनाको उद्धेश्य के हो?
भेरी नदीको पानीलाई भेरीगंगा नगरपालिका–९ को चिप्लेदेखि भेरीगंगा–१ को हात्तिखालमा खसालेर विद्युत् उत्पादनका साथै सिंचाई सुविधा पु¥याउने उद्देश्यले यो आयोजनाको सुरुवात गरिएको हो ।
भेरीको पानी बबईमा खसाल्नका लागि चुरे पर्वतभित्र १२ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ ।
आयोजना सम्पन्न भएमा ४८ मेगावाट विद्युत् उत्पादन हुनुका साथै बर्दिया र बाँके जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ ।
प्रतिकृया दिनुहोस्