२७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ दिंदै उनले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ बर्ष जेल बसेको, पार्टीका धेरै नेता, कार्यकर्ता शहीद भएकोले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताएका छन् ।
'नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन हुने कुरा कल्पनासम्म हुँदैन', प्रधानमन्त्री ओलीले भने, 'यो कुरा मिडियाले पनि बुझनुपर्छ ।'
सरकार र जनतालाई सजग गराउन मिडियाको ठुलो भूमिका हुने भएकाले सञ्चार माध्यमले आफ्नो दायित्व पनि भुल्न नहुने ओलीले बताए । उनले भने, 'अहिले लेखिएका कुरा २० बर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ ।'
प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कंडेल लगायत कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
प्रतिकृया दिनुहोस्