२७ साउन । सुर्खेतको विद्यापुर जनता बहुमुखी क्याम्पसमा मनोमानी ढंगले शिक्षक नियुक्ति गरेकोप्रति विभिन्न ६ विद्यार्थी संगठनले विरोध गरेका छन् ।
आइतबार संयुक्त विज्ञप्ति निकाली उनीहरुले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन् । चार बुँदे माग राख्दै विद्यार्थी संगठनहरुले तीन दिनभित्र आफ्ना माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विरोध जनाउनेमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी (विप्लव), अनेरास्ववियु छैटौं, अनेरास्ववियु पाँचौं र नेपाल क्रान्तिकारी विद्यार्थी संगठन छन् ।
विज्ञप्तिमा क्याम्पसको विधानलाई मनोमानी ढंगले संशोधन गरी नियमावली विपरित गरिएको कर्मचारी तथा प्राध्यापकको नियुक्ति खारेज हुनुपर्ने, उमेरको हद नाघेका र योग्यता नपुगेकाहरुको नियुक्ति खारेज हुनुपर्ने लगायतका माग छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आँगिक हुन लागेको पूर्वसन्ध्यामा विश्वविद्यालयबाट भएको अनुगमनमा समेत मिलेमतो भएको विज्ञप्तिमा उल्लेख छ ।
सोही विषयमा सोमबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतति र रजिष्ट्रारलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको अखिल क्रान्तिकारी सुर्खेतका संयोजक जगतराज ढकालले बताए ।
प्रतिकृया दिनुहोस्