२८ साउन । ७२ साल बैशाख १२ गते नेपालमा ठूलो भुकम्प गयो । भूकम्पको केन्द्र गोर्खाको बारपाक रहेपनि यसले पश्चिम नेपाल पनि हल्लायो । यसैबेला सामान्य क्षति भएको सुर्खेतको एउटा विद्यालय हालसम्म पनि मर्मत हुन सकेको छैन । यद्धपी विद्यालय भवन पुर्ननिर्माणका लागि रकम भने निकासा भैसकेको छ ।
भेरीगङ्गा नगरपालिका ११ रामघाटस्थित शिखर माध्यामिक विद्यालयले आ.व. २०७२/०७३ मा सम्पन्न गर्ने गरी विद्यालय भौतिक सुधार अन्तर्गत ‘रेक्टोफिटिङ’ गर्न तत्कालिन जिल्ला शिक्षा कार्यलयबाट १३ लाख ४१ हजार रुपैयाको सम्झौता गरेको थियो ।
कार्यालयले उक्त रकम विद्यालयका नाममा निकासा समेत गरेको थियो । तर ३ बर्षमा पनि काम सम्पन्न नभएपछि बैङ्क खाता रोक्का गरेकोे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । सम्झौतामा उल्लेख मिति नाघेको यत्रो वर्ष सम्म कुनै काम नभएपछि जनप्रतिनिधि र जनसमूदायमा समेत यसबारे चासो बढेको छ ।
अहिलेसम्म निर्माण कार्य सम्पन्न नभएकोमा ध्यानाकर्षण भएको भन्दै शिक्षा इकाइले गत साउन २ गते के कति कारणले ढिला हुन गएको हो भनी विद्यालय प्रशासनसंग स्पष्टिकरण सोधेको थियो ।
पत्रमा भनिएको छ, ‘उक्त कार्य ढिलाई हुनुमा क–कसको जिम्बेवारीपन हावी छ? उक्त कार्य सम्पादन गर्ने योजना छ कि छैन? छ भने कहिले सम्म?’ आदी विषयमा एक हप्ताभित्र लिखित जवाफ दिनको लागि इकाइले विद्यालयलाई आग्रह गरेको थियो ।
लिखित जवाफमा विद्यालयले उक्त कार्य शुरु नै नभएको स्वीकार गरेको छ । बरु विद्यालयको माध्यामिक तह नेपाली विषयको स्थायी दरबन्दिमा शिक्षक पदस्थापना सन्दर्भमा भएको खिचातानीका कारण उक्त कार्य गर्न नसकिएको कुरालाई कार्य सम्पन्न गर्न नसकेको मुख्य कारण देखाएको छ ।
साउन ९ गते विद्यालयले लेखेको पत्रमा यही साउन मसान्तभित्र उक्त कार्य सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । यद्धपी विद्यालय प्रशासनको यस्तो जवाफसंग स्थानीय अगुवा सन्तुष्ट छैनन् ।
भेरीगंगा नगरपालिका ११ का वडा अध्यक्ष तिलकराम डाँगीले निर्माण कार्य ढिलाई हुनुको कारण आफूलाई जानकारी नभएको बताए । ‘तत्काल शुरु गर्न भनेर ताकेता गरेका छौं । व्यवस्थापन समितिको निर्णय पनि छ । तर के कारणले ढिला भएको हो भन्ने मलाई थाहा छैन’, उनले भने ।
विद्यालयका प्रअ दानबहादुर चन्दले भने ७४ मंसिरमा मात्र आफूहरुले उक्त सम्झौता गरेको बताए । उनले भने, ‘दुइवटा भवनको माथिल्लो तला मर्मत गर्ने हो । १२/१५ दिनमा काम सकिन्छ । असोज सम्म म्याद थपेका छौं । अहिले मौसमको कारण काम सुरु गर्न समस्या छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर चन्दले भने तत्काल काम शुरु गरिने बताए । ‘मैले मिस्त्रीलाई खबर गरिसकेको छु । आजसम्म नेताहरुको हस्तक्षेपको कारण काम हुन सकेन । अब भोलीदेखि नै हुन्छ’, चन्दले भने । निकासा भएको पहिलो किस्ता विद्यालयको वैंक खातामा रहेको पनि उनले बताए ।
विद्यालय व्यवस्थापन समितिले उक्त निर्माण कार्य सम्पन्न गर्न ममतादेवी कसेराको अध्यक्षतामा पहिलेनै एक निर्माण समिति गठन गरेको थियो । तर व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले भने व्यवस्थापन समितिबाटै काम होस् भन्ने चाहन्थे ।
अध्यक्ष चन्दले उक्त निर्माण समिति गठनप्रति आपत्ति प्रकट गर्दै भने, ‘निर्माणको काम विव्यसलेनै गर्नु पर्ने हो । यहाँ त छुट्टै समिति गठन गरेर कहीं नभएको जात्रा देखाइयो ।’
यति सानो रकमको विषय ठूलो नबनाउन पनि अध्यक्ष चन्दले आग्रह गरेका छन् । भन्छन्, ‘गाउँ समाजमा कत्रा कत्रा अनियमितता भइरहेका छन् । यति जाबो रकमको पछि किन लाग्नुहुन्छ?’
स्थानीयले भने सम्झौता अनुरुप निर्माण कार्य नहुनुको प्रमुख दोष प्रअ र विव्यस अध्यक्षलाई नै दिन्छन् । ‘उहाँहरु आँफै गर्न चाहनु हन्थ्यो, निर्माण समिति बनेपछि रुष्ट बन्नु भएको हो,’ एक युवाले सेरोफेरोसंग भने ।
अहिले दैनिक १ लाख रुपैया खर्च गर्ने गरी निर्माण कार्य शुरु गर्न लागिएको योजनाको गुणस्तर कस्तो होला भन्ने चासोको विषय बनेको छ ।
इकाई प्रमुख जितबहादुर शाहले भने, 'साउन २ गते हामीहरुले स्पष्टिकरण मागेका हौं । छोटो समयमा काम गर्दैमा गुणस्तरिय हुंदैन भन्न मिल्दैन ।' उक्त कामको अनुगमन तथा मूल्याँकन इकाइकै भौतिक शाखाले गर्ने शाहले बताए ।
शाहले शिक्षाको नाममा आएको कुनैपनी बजेट फिर्ता नजाने बताए । 'शिखर माधयामिक विद्यालयमा राजनीतिक कारणले यो काम सम्पन्न नभएको बुझिएको छ । अब उहाँहरुले साउन मसान्तसम्ममा काम सक्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । हेरौं के हुन्छ?', शाहले भने ।
इकाइ समिति भौतीक शाखाका सब ईन्जिनियर ज्ञानु शर्माले भने यो सम्पन्न गर्न कम्तीमा पनि डेढ महिना लाग्ने बताएका छन् ।
साउन महिना सकिन केही दिन मात्र बाँकी रहेको हालको अवस्थामा पनि शुरु नगरिएको विद्यालयको पुनर्निर्माण साउन मसान्तमा कसरी सकिएला?
प्रतिकृया दिनुहोस्