Birendranagar Municipality

इन्सेकको कर्णाली प्रदेश कार्यालय स्थापना

सेरोफेरो/सुर्खेत
इन्सेकको कर्णाली प्रदेश कार्यालय स्थापना

२९ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश कार्यालय स्थापना गरेको छ । प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले संयुक्त रुपमा वोर्ड स्थापना गरी कार्यालयको शुभारम्भ गरेका हुन् । 

 

मन्त्री रावलले नागरिक अधिकार स्थापनामा गैर सरकारी संस्थाको भूमिकाको प्रशंसा गर्दै आफू एनजिओ विरोधी नभएको बताए । बरु पञ्चायतकालीन संस्था दर्ता ऐनमा सुधारको खाँचो औंल्याए ।

 

उनले भने, ‘नागरिकका अधिकार कुण्ठित गर्न बनाइएको ऐन नै हालका नागरिक संस्थाहरु स्थापना गर्ने आधार भएकोले यसको संशोधन आवश्यक छ ।’ कार्यक्रममा मन्त्री रावलले प्रदेश सरकार मानव अधिकारमैत्री कानुन निर्माण र कार्यान्वयनका लागि प्रतिवद्ध रहेको दावी गरे । 


नेपालको संविधान नै मानव अधिकार मैत्री भएकाले संविधान बमोजिम बन्ने कुनैपनि कानुन मानव अधिकार विरोधी नबन्ने पनि उनको दावी थियो ।

 

अब कर्णाली प्रदेशको आवश्यकताका आधारमा मात्र एनजिओ स्थापना गरिने र त्यसको खटन पटनका लागि प्रदेश सरकार नै जिम्मेवार बन्नुपर्ने पनि मन्त्री रावलको धारणा थियो ।

 

कार्यक्रममा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले प्रश्न संस्कृतिको निर्माणका लागि नै लोकतन्त्र भएको बताए । उनले भने, ‘मानव अधिकार र लोकतन्त्र एक अर्काका परिपुरक हुन् । जहाँ प्रश्न गर्न पाइन्छ त्यहाँ लोकतन्त्र छ भन्ने थाहा हुन्छ ।’

 

मानव अधिकारको महत्वबारे व्याख्या गर्दै उनले भने, ‘मानव अधिकार यस्तो विषय हो जसलाई देश बनेको छैन भनेर पनि छुट छैन । कानुन बनेको छैन भनेर पनि हुँदैन ।’ यस विषयमा आफूहरु प्रदेश सरकारसंग समन्वय गरेर जान तयार रहेको पनि प्याकुरेलले बताएका छन् ।

 

उनले भने, ‘हामीलाई गरिब भनेर, कमजोर भनेर विदेशीले धेरै हेपेका छन् । अब हेपिनु हुँदैन । सरकारले पनि 'वान स्टप सर्भिस सिस्टम'बाट सेवा प्रवाह गर्नुपर्छ । गैर सरकारी क्षेत्रले पनि इमान्दार भई काम गर्नुपर्छ ।’

 

इन्सेकको प्रदेश कार्यालय संयोजकका रुपमा यसअघि क्षेत्रीय कार्यालय नेपालगञ्जमा कार्यरत नारायणप्रसाद सुवेदीलाई जिम्मेवारी दिइएको पनि अध्यक्ष प्याकुरेलले जानकारी दिए ।

२०७५ साउन २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्