३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधि मण्डलसँग बिहिबार सिंहदरबारमा अन्तरक्रिया गर्दै जनतालाई गुनासो गर्ने ठाउँ नदिन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
‘स्थानीय तहमा एका अनियमितताबारे धेरै जनगुनासो आएका छन् । कतिपय ठाउँमा मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्षले महंगा गाडी किनेको, कतिपय वडा अध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफै लिएका गुनासाहरु आएका छन्’, ‘ओलीले भने, 'तपाईंहरु जनप्रतिनिधि हो । त्यस कारण जनताले नरुचाउने काम नगर्नुस् । जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुस् ।’
मुलुकको अवस्था र परिस्थिति अनुसार कानुनले दिएका सबै सुविधा खोज्ने बेला नभएको पनि प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘राजनीतिमा त्याग पनि महत्वपूर्ण छ । जनताको मन जित्न त्याग पनि गर्नुस् । कानुनले दिएको छ भन्दैमा जनताको चाहना विपरित नजानुहोस् ।’
जनप्रतिनिधिनै मुलुकको खम्बा भएकोले डटेर काममा लाग्न पनि ओलीले सबैलाई आग्रह गरेका छन् । उनले भने, ‘स्थानीय सरकारको कामबाटै जनताले प्रदेश र संघीय सरकारप्रतिको धारणा बनाउने भएकाले पनि यसमा विशेष ध्यान दिनुहोला ।’
प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय सहकारी महासंघको प्रतिनिधि मण्डलसँग भेटघाट गरी सहकारीहरुलाई आफ्ना गतिबिधि कृषिमा केन्द्रित गर्न आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस्