१ भदौ । सल्यानको पहिचान बनेको सल्यानी खुकुरीको माग अत्याधिक बढेको छ ।
सल्यान छोडेर जानेहरुलाई उपहारको रुपमा दिने र जिल्लामा आउने हरेकले लैजाने सल्यानी खुकुरीको माग अत्याधिक बढेपछि पुर्याउनै मुस्किल छ । सल्यानी खुकुरी उपहार स्वरुप दिने, घरायसी काममा बढी मात्रामा प्रयोग गर्ने जस्ता कारणले पनि सल्यानी खुकुरीको माग बढ्दै गएको हो ।
‘सल्यानी खुकुरी उपहारको रुपमा लिने प्रचलन बढेकोले पुर्याउनै धौधौ छ’, खुकुरी उद्यमी विष्णु विश्वकर्माले भने– ‘अहिले त नेपालमा मात्रै नभएर विदेशमा समेत उपहारको रुपमा पठाउने प्रचलन बढेको छ ।’ सल्यानको शारदा नगरपालिका २ खलंगास्थित विश्वकर्मा टोलमा रहेका १० परिवार मध्ये ६ परिवारले पुख्र्यौली खुकुरी बनाउने पेशा अँगालिरहेका छन् ।
आफूहरुले विभिन्न प्रकारका खुकुरीका साथै खुडा, चक्कु, चुलेसी लगायतका समाग्रीहरु समेत बनाउने गरेको स्थानिय जुद्ध बहादुर विकले बताए । सशस्त्र द्वन्द्वको समयमा खुकुरी बनाउने पेशा बन्द नै भएपनि शान्ति प्रक्रिया शुरु भएसँगै यो पेशाको पुनः शुरुवात गरिएको उनले बताए ।
हाल सल्यानी खुकरी, सिरुपाते, टोरा ओखोला, टोरा दुईचिरा, हवल्दार, क्षेत्रि, जिडव्लु खुकुरी, डव्लुडव्लु वान, डव्लुडव्लु टु जस्ता एकदर्जन खुकुरी बनाइने पनि उनले बताए ।
सीप पुस्तान्तरणमा समस्या
खुकुरीको माग अत्याधिक बढेपनि युवा पुस्ताको आकर्षण बढ्न नसक्दा यो पेशा संकटमा पर्न सक्ने देखिएको छ ।
विश्वकर्मा टोलमा रहेका युवाहरु अन्य पेशामा जान थालेको र अन्य समुदायका मानिसहरु समेत यस पेशामा नआएकोले यो पेशा संकटमा पर्न सक्ने देखिएको स्थानीय जुद्धबहादुर विकले बताए ।
उनले भने, ‘हामी जीवनभर यही काम गरिरहेकाहरु बुढो भैसक्यौं । अब पछाडिकाले यो पेशा रोजेनन् । हामीसँगै यो पेशा पनि हराउने पो हो कि भन्ने चिन्ता छ ।’

अर्डर गरेको एक हप्तामा पनि पाउन मुस्किल
अहिले खुकुरीको माग अत्याधिक आउने तर माग अनुसारको खुकुरी बनाउन नसकिएको उद्यमी इन्द्र विकले बताए ।
‘माग धेरै आउँछ । हामीले माग अनुसार आपूर्ति गर्न सकेका छैनौं’, उनले भने– ‘बिहान आरनमा बसेपछि साँझ निस्कन्छौ । तर पनि भनेजति बनाउन सकेका छैनौं ।’ जनशक्तिको अभावले पनि यस्तो भएको उनले बताए ।
खुकुरी बनाएर उनीहरुले सबै खर्च कटाएर मासिक २५ हजार रुपैयासम्म कमाउँदै आएका छन् । तर पनि आबश्यक जनशक्ति नहुनु, बिद्युत् तथा कोइलाको समस्याका कारण पनि पर्याप्त खुकुरी उत्पादन हुन सकेको छैन ।
सल्यानी खुकुरी काठमाडौं, पोखरा, बुटवल तथा देशबाहिर अमेरिका, अस्ट्रेलिया, युरोप, जापान लगायत देशमा उपहारका रूपमा पठाउने गरिएको छ ।
खुकुरीको मूल्य एक अंगुल बराबर एक सय रुपैया छ । सल्यानको चिनारीको रुपमा रहेको खुकुरी निर्माण गर्ने उद्योग पहिले ५ वटा भएपनि हाल ३ वटामात्र सञ्चालनमा छन् ।
सल्यानी खुकुरी उद्योगहरुमा पहिले बन्दुक समेत निर्माण गरिन्थ्यो । तर, हाल यो काम बन्द गरिएको छ । खुकुरीको बढी माग नेपाली सेनाका ब्यारेकहरुबाट आउँछ ।
प्रतिकृया दिनुहोस्