१ भदौ । महिलालाई दोस्रो दर्जामा सिमित गर्ने गरि नागरिकता विधेयकमा भएको विभेदकारी ब्यवस्था खारेज गर्न दबाव महिलाहरुले काठमाडौको माईतीघर मण्डला देखि नयाँ बानेश्वर सम्म दवाब र्याली गरेका छन् ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको समन्वयमा भएको र्यालिमा महिला अधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाका व्यक्तिहरुको सहभागीता रहेको थियो । उक्त र्याली बानेश्वरमा पुगेर कोणसभामा परिवर्तन भएको थियो ।
श्रावन २४ गते रक्षा तथा गृह मन्त्रालयको तर्फबाट प्रतिनिधि सभामा पेश गरेको उक्त विधेयकको दफा ८ को उप दफा १ खण्ड (क२) मा रहेको ̎नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याई सहित निज वा निजको आमाले गरेको स्वघोषणा ।” गर्नु पर्ने ब्यवस्थाले महिलाको अस्मिता, स्वतन्त्र अस्तित्वलाई अस्वीकार गर्दछ भन्दै महिला अधिकारवादीहरुले उक्त र्यालीको आयोजना गरेका हन् ।
कार्यक्रममा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष डा. रेणु अधिकारीले २०४६ साल यताका सबै आन्दोलनले आमाको नामबाट नागरिकताको माग उठाइरहेको स्मरण गराउँदै अहिलेको सरकारले पनि विभेदकारी व्यवस्था राखेको भन्दै खेद प्रकट गरिन् । भनिन् ‘सरकारलाई नागरिकता विधेयकमा भएको उक्त विभेदकारी व्यवस्थालाई खारेज गर्न अहिले दवाव स्वरुव प्याजी रंगको ब्यानर बनाएर र्याली गरिरहेका छौं, यदि उक्त विभेदकारी ब्यवस्था हटाउने होईन भने कालो ब्यानरमा देश भरी विरोध कार्यक्रम गर्ने छौं ।’
त्यसै गरि पौरखीका मञ्जु गुरुङ्गले, ‘विभिन्न प्रकारका उत्पिडनमा परेका आमाहरुले हुर्काएका बालबालिकालाई हुर्काउने समयमा नभएको पिता खोज भन्नु आमाको मातृत्व प्रतिको अपमान भएको धारणा राखिन् ।
र्यालीमा महिला अधिकार सुनिश्चित गर, महिलालाई सम्मान गर, आमालाई दोस्रो दर्जाको बनाउन पाईँदैन, नागरिकता विधेयकमा भएको विभेदकारी ब्यवस्था खारेज गर, मातृत्वको सम्मान गर, आमालाई धेरै प्रश्न नगर जस्ता नारा लगाएका थिए ।
प्रतिकृया दिनुहोस्