Birendranagar Municipality

आठविसकोटका पहिरो पीडितलाई राहत वितरण

मनिषा केसी /रुकुम (पश्चिम)
आठविसकोटका पहिरो पीडितलाई राहत वितरण

४ भदौ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ मा पहिरोले घरबार विहीन बनाएका परिवारलाई राहत वितरण गरिएको छ ।


आठविसकोट ११ का मंगरा, धुर्सेनी र गोइरीमा बाढी पहिरोले घर भत्काउँदा केहीदिन अघि १६ र आइतबार २ परिवार घरवार विहीन भएका थिए । ती परिवारलाई सोमबार जिल्लाबाट राहत लिएर टोली सोही स्थानमा पुगेर राहत वितरण गरेको हो ।


घरबार विहीन मध्ये पहिलो चरणमा सोमबार जिल्ला प्रशासन कार्यालयबाट १३ परिवारलाई प्रति परिवार ९ हजार रुपैयाँका दरले नगद राहत वितरण गरिएको र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट १२ परिवारलाई गैरखाद्य सामाग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।


प्रारम्भिक जानकारी अनुसार १६ परिवारको लागि राहत सामाग्री बोकेर जिल्लाबाट प्रशासन कार्यालयका खरिदार देवबहादुर ओली र नेपाल रेडक्रस सोसाइटी रुकुमका सभापति शिवराम खत्री लगाएको टोली त्यसतर्फ पठाईएको छ । बाँकीको लागि अर्को चरणमा वितरण गरिने भएको छ ।


रेडक्रसबाट वितरण गरिएको राहत सामाग्रीमा त्रिपाल, कम्बल, भाँडाकुँडा र काँचो कपडा लगायत रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमका सभापति शिवराम खत्रीले जानकारी दिए ।


यसका साथै अन्य वडाका सहित जम्मा ३० घरपरिवार पहिरोपीडित भएकोले राहत उपलब्ध गराउन नगरपालिकाले मौखिक जानकारी गराएकोले त्यसको सबै विवरण बुझेर थप राहत पठाईने प्रजिअ रेग्मीले जानकारी दिए ।


रेडक्रसबाट लिएको राहत सामाग्रीले समेत सबैलाई नपुगेकोले थप सामाग्री जिल्लाबाट मगाईएको र अर्को चरणमा वितरण गरिने आठविसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।


यसअघि आठविसकोट नगरपालिकाले १६ परिवारलाई प्रति परिवार पाँचहजार रुपैयाँका दरले प्रारम्भिक राहत वितरण गरेको थियो ।

 

पीडितले घरबार सबै बगाएर समस्यामा पारेको भन्दै यति मात्र राहतले नपुग्ने भन्दै प्रदेश र केन्द्र सरकारले समेत सहयोग गर्नुपर्ने बताएका छन् ।

२०७५ भदौ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्