Birendranagar Municipality

वीरेन्द्रनगरमा बजार अनुगमन : जहाँतहीं म्याद गुज्रेका सामान

सेरोफेरो/सुर्खेत
वीरेन्द्रनगरमा बजार अनुगमन : जहाँतहीं म्याद गुज्रेका सामान

मिठाई तथा खानेकुरा खुला राखेको पाइएको एक नास्ता पसल ।

 

६ भदौ । वीरेन्द्रनगरका केही पसलमा बुधबार नगरपालिकाका बरिष्ठ अधिकृृत प्रकाश पौडेल सहितको टोली अनुगमनमा गयो । अचानक अनुगमन टोली पुग्दा व्यापारीहरु तर्सिए ।

 

नगर सुरक्षा सहितको सरकारी टोली जाँदा उनीहरु तर्सिनु अस्वाभाविक थिएन । एक होटलका साहुजीलाई पौडेलले सोधे ‘खोई मूल्यसूची?’ साहुजीले ‘छैन सर’ भने ।

  

उनले मूल्यसूची राख्न सुझाव दिए र अर्को खाद्य पसलमा छिरे । त्यहाँ म्याद गुज्रेका सामान भेटिए । टोलीले नगरका विभिन्न ९ पसलमा अनुगमन गरे । प्रायः पसलमा यस्तै सामान भेटियो ।

 

अनुगमनपछि पौडेलले भने, ‘विभिन्न होटेल तथा खाद्य पसलहरुमा मूल्यसूची नराखिएको, म्याद नाघेका सामान राखेको र पसल नवीकरण नगरेको पाइएको छ । हामीले पहिलो पटक सुझाब दिएका छौं । फेरी यस्तो भेटिएमा कानुन बमोजिम दण्ड जरिवाना र सामान जफत समेत गर्नेछौं ।’

 

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्मा, खाद्य अनुगमन कार्यालयका खाद्य निरीक्षक भेषराज थापा लगाएतको टोलीले संघीयता लागू भएपछि पहिलो पटक वीरेन्द्रनगर नगरपालिकाको कार्यविधि अनुसार अनुगमन गरिएको पौडेलले बताए ।

 

वीरेन्द्रनगर नगरपालिकाले बजार अनुगमन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४ पारित गरी लागू गरेको छ ।

 

पौडेलले अबको अनुगमन तीजलाई लक्षित गरेर विभिन्न कस्मेटीक तथा कपडा पसलहरुमा गरिने बताए ।

२०७५ भदौ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्