७ भदौ । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । यहाँ रंगशाला, खुला मञ्च लगायत धेरै सरकारी चौर छन् ।
बर्खाको समय जताततै घाँसैघास । बिहान मर्निङवाक तथा व्यायाम गर्ने, दिउँसो गाइ बस्तु चर्ने, साँझतिर ड्राइभिङ सिक्ने र विभिन्न खेल खेल्नेहरु हुँदा दिनभरी चौरमा प्रायः चलहपहल भइरहन्छ ।
सेरोफेरोले यसपटक गोठालाहरुसंग कुराकानीसंगै फोटो कथा तयार गरेको छ ।
५ वर्षको उमेरबाट गोठालो हिड्न थालेकी पार्वती जैशीलाई घर बस्दा समय बिताउन गाह्रो लाग्छ ।
४६ वर्षको बताउने विनपा १२ ईत्रामकी जैशीले १५ वटा बाख्रा पालेकी छन् । ‘सानैदेखि गोठालो गर्न थालियो । रमाईलो लाग्छ ।’ उनले भनिन् ।
आफूहरु ७ बहिनी छोरी भएको बताउने उनको घर पहिले दैलेखको नौमुले हो । गोठालो आउँदा साथीहरुसग भेट हुने, ज्यान फुर्तीलो हुने हुँदा भरसक उनी घर बस्न चाहँदिनन् ।
छोराछोरीहरु गोठालो आउन नमानेको देख्दा भने उदेक लाग्छ । भनिन्, ‘खै किन हो आउँन मान्दैनन् । छोराछोरी बेरोजगार छन् तर गोठालो आउन लाज मान्छन् ।’
विनपा १२ ईत्रामकी भविसरा सुनारले भैंसी पाल्न लागेको २ वर्ष भयो । भैंसीको दुध बेचेर दुईभाई छोरालाई पढाएकी छिन् । भैंसी मात्र होइन ३ वटा गोरु, २ वटा गाई र ५ वटा बाखा्र पालेकी भविसरालाई सबै काममा श्रीमानको साथ र सायोग छ ।
उनलाई संधै गोठालो आउनुपर्दा दिक्क लाग्छ । भन्छिन् ‘संधै आउँन अल्छी लाग्छ । तर आएपछि दिन गएको पत्तै हुन्न ।’
४ वटा गोरु पालेका ६३ वर्षीय चुलुवा थारुले जीवनका धेरै समय खेतीपाती र गोठालो गरे । जीवनको उत्तरार्धमा पनि उनी हरेक दिन गोठाले बनेर बिताउँछन् ।
गोठालो गरिरहँदा कहिले काँही पट्यार लाग्छ रे । तर अरु काम गर्न शरिरले साथ दिदैन अचेल । भन्छन् ‘गोठालो आउँदा संघ साथी भेटेर दुःख सुखका कुरा गर्दा मन हल्का हुन्छ । यतै रमाइलो ।’
गोमा थारुले थाहा पाएदेखी नै गोठालो गर्न थालिन् । परिवार छुट्टीएपछि भर्खर भर्ना भएको स्कुलको पढाई छोडेर गोठालो गर्न थालेको बताइन् ।
खासगरी वीनपा पदमपुरका करिब १५ जना चौधरीहरु समुहमा गोठाला जाने गर्छन् । उक्त वस्तिमा गोठालाहरुको अर्को एउटा समुह पनि छ ।
मन मिल्नेहरुको समुह बनाउने उनीहरुले घरबाट सबैले नास्ता ल्याउने र बाँडेर खाने गर्छन । यसले एक अर्कामा आत्मीयता पनि बढाउने गरेको उनीहरुको अनुभव छ ।
कुनै दिन महिला धेरै हुन्छन् त कुनै दिन पुरुष । महिलाहरु सबैलै ढकिया बुनिरहेका छन् । चुलुवा थारु भने खुल्ला मञ्चलाई बढारिरहेका थिए ।
उक्त समुहमा धरैजसो गोठालाहरु ५० काटेका थिए । ३० देखि ५० का निक्कै थोरै । तर उक्त समुहमा भर्खरकी देखिने एक युवति पनि छन् ।
अमरज्योति माध्यामिक विद्यालयमा पलस टु पास गरेकी बीनु चौधरी बिदाको समय गोठाला आउँछिन् । ‘मम्मी बिरामी भएको बेला, फुर्सद नभएको बेला र मेरो स्कुल बिदा भएको बेला गोठाला आउँछु’ उनले भनिन् ।
चौधरीहरुको उक्त गोठालो समुहमा एक सय भन्दा बढी भेडा र गाइ, गोरु गरेर ४० वटा जति छन्, जो समुहमा चर्छन् ।
गोठालाहरुको भिडमा एक बालक छन्, जो स्कुल भर्ना भएका छैनन् । कक्षा चारमा पढ्नु पर्ने बताउँने ती बालक आमासंगै गोरु चराउन आएका थिए ।
प्रतिकृया दिनुहोस्