Birendranagar Municipality

कञ्चनपुरमा गोली चल्यो, २ प्रहरीसहित ८ घाइते

बलात्कारपछि हत्याबारे छानबिन गर्न सरकारले समिति बनाउने
सेरोफेरो
कञ्चनपुरमा गोली चल्यो, २ प्रहरीसहित ८ घाइते

तस्बिर : रासस


७ भदौ । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाउने भएको छ।


निर्मलाको बलात्कारपछि हत्याका सम्बन्ध प्रहरीले राम्ररी अनुसन्धान गरेर मुख्य अभियुक्त खोज्नुको साटो नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयले आन्दोलन गरिरहेका छन्।

 

प्रदर्शनकारीमाथि बिहीबार प्रहरीले गोली चलाएको छ। प्रदर्शनकारीले जिल्ला ट्राफिक कार्यालयमा तोडफोड गर्न खोजेपछि गोली चलाइएको प्रहरीले जनाएको छ। गोली लागेर दुई प्रहरीसहित आठ जना गम्भीर घाइते भएका छन्।


प्रहरीका अनुसार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा प्रदर्शनकारीले जिल्लास्थित सरकारी भवनमा तोडफोड गरेपछि प्रहरीले १० राउन्ड गोली हानिएको हो । गोली प्रहारबाट घाइते हुनेमा अर्जुन भण्डारी, तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया छन्। उनीहरुमध्ये भट्ट र भण्डारीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ।

 

आन्दोलनकारीको ढुंगा लागेर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते भएका छन्। घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

 

साउन १० गतेदेखि हराएकी निर्मलाको ११ गते बलात्कारपछि हत्या गरिएको शव फेला परेको थियो। झन्डै महिना दिन लामो अनुसन्धानपछि प्रहरीले भदौ ४ गते ४१ वर्षिय दीलिपसिङ बिष्टलाई अभियुक्त भनेर सार्वजनिक गरेको थियो।


मानसिक सन्तुलन गुमाएका विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयवासी तीन दिनदेखि आन्दोलनमा छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले झडपमा घाइते भएकोबारे जानकारी लिइरहेको बताए।

 

घटनाको छानबिनका लागि वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दलाई कञ्चनपुर खटाएको छ। उनले आजैदेखि घटनाको छानबिन थालेको प्रहरी स्रोतले जनाएको छ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई सरकारले संरक्षण दिने काम गरेको भन्दै संसदमा चर्को आलोचना गरेको छ।

 

प्रतिनिधिसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्ने कांग्रेसका सांसदहरूले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संग्लग्न मुख्य अभियुक्तलाई बचाइ दोषी भनेर अर्को व्यक्ति उभ्याउने काम गरेको आरोप लगाएका हुन्।

२०७५ भदौ ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्