Birendranagar Municipality

कञ्चनपुरका सिडिओ र एसपी फेरिए

सेरोफेरो

७ भदौ । गृह मन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख परिवर्तन गरेको छ ।


मन्त्रालयमा बिहीबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी प्रमुख डिल्लीराज विष्टलाई फिर्ता बोलाएको हो । उनीहरुको ठाउँमा क्रमशः तारानाथ अधिकारी र कुवेर कडायतलाई पठाएको छ । मन्त्रालयले कञ्चनपुरमै कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठीको पनि सरुवा गरेको छ ।

 

१३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा कञ्चनपुरमा आन्दोलन चर्किरहेको छ । आन्दोलनले उग्र रुप लिंदा प्रहरीले चलाएको गोलीबाट बिहिबार मात्रै ८ जना घाइते भएका छन् । प्रहरीले नक्कली बलात्कारी खडा गरी प्रतिवेदन तयार गरेकोले मान्य नहुने भन्दै पन्तको परिवारले सत्यतथ्य छानविन गर्न माग गरेको छ ।

मन्त्रालयले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । समितिमा ३ वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक (डिआर्इजी) र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ का प्रतिनिधि छन् ।

 

छानविन समितिले १५ दिनभित्र छानविन गरी प्रतिवेदन दिनेछ । छानविन कार्यमा आवश्यक सहयोग गर्न सम्बन्धित सबैमा मन्त्रालयले आग्रह गरेको छ ।

 

मन्त्रालयले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनाप्रति सरकार दु:खी भएको जनाएको छ । साथै स्थितिलाई संयमित बनाइराख्न पनि मन्त्रालयले सबैलाई अपिल गरेको छ ।

२०७५ भदौ ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्