८ भदौ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ । बिहीबार साँझ बसेको बैठकले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
यसअघि प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि मिश्र प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् । संसदीय सुनुवाईबाट अस्वीकृत हुने जोशी पहिलो प्रधानन्यायाधीश हुन् ।
मिश्रको अब संसदीय सुनुवाइ प्रक्रिया सुरु हुनेछ । परिषद्ले सुनुवाइका लागि पत्राचार गरेपछि करिब दुई सातामा सुनुवाइ सम्पन्न हुनेछ । प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध कुनै उजुरी भएमा सर्वसाधरण समेतलाई १० दिन उजुरीको समय दिइनेछ । प्राप्त उजुरीमा उजुरीकर्तासँग समेत छलफलपछि मात्र सुनुवाइ हुनेछ ।
२०३८ सालमा कानुन समूहबाट शाखा अधिकृतका रुपमा सरकारी सेवा प्रवेश गरेका मिश्र २०४२ वैशाखमा जिल्ला अदालतको अत्तिरिक्त न्यायाधीशमा नियुक्त भएका थिए ।
त्यसको पाँच वर्षपछि उनी जिल्ला अदालतमा स्थायी न्यायाधीश बने । मिश्र २०६२ फागुनमा तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश र ०७१ जेठ १३ मा सर्वोच्चमा स्थायी न्यायाधीश नियुक्त भए ।
रूपन्देही घर भएका मिश्र २०१० साल पुस १६ गते जन्मिएका थिए। भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नात्तकोत्तर गरेका मिश्रले २०७५ पुस १८ गते उमेर हदका कारण अवकास पाउँदैछन् ।
प्रतिकृया दिनुहोस्