१० भदौ । आज श्रावण पूर्णिमा अर्थात् जनैपूर्णिमा । रक्षाबन्धनको रुपमा शरीरमा धागो बाँधेर यो पर्व मनाउने चलन छ । आजको दिनलाई ॠषितर्पणी वा गायत्री जयन्तीको रुपमा पनि मनाइन्छ ।
जनै धारण गर्नेले यज्ञोपवित जनै लगाएर वा हातमा धागो बाँधेर यो पर्व मनाइन्छ । धार्मिक परम्परा अनुसार आजको दिन विभिन्न मठ मन्दिरमा गई पूजा अर्चना गर्ने चलन पनि छ ।
आजकाल यसलाई राखीको दिन पनि भनेर मनाउन थालिएको छ । दिदी-भाईका बीच एक आपसमा राखी बाँधेर पनि यो पर्व मनाउने गरेको पाइन्छ ।
शरीरको रक्षा गर्न रक्षाबन्धन बाँधिने भएपनि यो तागाधारी र गैर-तागाधारीबीचको खाडल बढाउने माध्याम भएको भन्दै दलितहरुले यसको विरोध गर्दै आएका छन् । यसैबीच रक्षाबन्धनको नाममा राखी संस्कृति झाँगिंदै गएको हो ।
६० सालदेखी वीरेन्द्रनगर ६ को हुलाक नजिकै मसला तथा पूजा सामाग्रीको व्यापार गर्दै आएका तुल्सी सापकोटाका अनुसार राखी भारतीय संस्कृति हो । उनले भने, 'शुरुशुरुमा यहाँ राखीको चलन थिएन । ६५ सालबाट यस्तो चलन भित्रिएको हो । आजभोली देखासिकीले पनि रक्षाबन्धन बाँधेको पाइन्छ ।'
वीरेन्द्रचोक नजिक गिफ्ट पसलसँगै विगत ८ बर्षदेखि रक्षाबन्धन बेच्दै आएका साहरुख अहमदले सुर्खेत जिल्लामा जनैपूर्णिमाको लागि मात्र करीब ५ लाखको रक्षाबन्धन भित्रने बताउँछन् । उनी भन्छन्, ‘व्यापारीहरुले नेपालगञ्जबाट रक्षाबन्धन ल्याउँछन् । प्रतिवर्ष करीब ५ लाखको रक्षाबन्धन सुर्खेत आउँछ ।’
हेर्नुहोस् सुर्खेतको वीरेन्द्रनगरमा रक्षाबन्धनको अवसरमा सेरोफेरोले खिचेका केही तस्बिर ।
प्रतिकृया दिनुहोस्