Birendranagar Municipality

'योगमाया'लाई मदन र शान्तदास मानन्धरलाई जगदम्बाश्री पुरस्कार

सेरोफेरो/काठमाडौं
'योगमाया'लाई मदन र शान्तदास मानन्धरलाई जगदम्बाश्री पुरस्कार

११ भदौ । यस वर्षको मदन पुरस्कार निलम कार्की (निहारिका) को 'योगमाया' उपन्यासले पाएको छ । 

 

अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्न तयार पार्ने योगमायाका बारेमा साहित्यकार कार्कीले स्थलगत अध्ययन गरी उक्त उपन्यास लेखेकी हुन् ।

 

१९३० को दशकमा भोजपुरको नेपालेडाँडा सिम्ले गाउँमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन् । उनले निरंकुश राणाशासनको विरोध गरेकी थिइन्।

 

सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले योगमाया उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 

२०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तकको नाम यसअघिनै सिफारिस गरेको थियो । जसमा ‘कैरन’ (ध्रुवसत्य परियार), ‘नथिया’ (सरस्वती प्रतीक्षा), ‘पाठशाला’ (तीर्थ गुरुङ), ‘भुइँया’ (यज्ञस), ‘यार’ (नयनराज पाण्डे), ‘योगमाया’ (निलम कार्की ‘निहारिका’), ‘लिम्बुनी गाउँ’ (राज माङलाक) र ‘हिमाली दर्शन’ (मोहन वैद्य ‘किरण’) थिए ।

 

लेखक कार्कीका दुई कविता संग्रह, तीन कथा संग्रहका साथै अर्की आइमाई र चीरहरण उपन्यास प्रकाशित छन्। चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो ।

 

त्यस्तै गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार दिने निर्णय पनि गरेको छ।SM

 दुबै पुरस्कारको राशी २/२ लाख रुपैया रहेको छ ।

२०७५ भदौ ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्