Birendranagar Municipality

लागूऔषध विरुद्ध प्रहरी अभियान

सेरोफेरो/सुर्खेत
लागूऔषध विरुद्ध प्रहरी अभियान

१२ भदौ । प्रहरी उपरीक्षक वसन्त रजौरे सुर्खेत आएको २ हप्ता भयो ।


यसबीचमा उनी जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भए । धेरैजसो कार्यक्रममा लागू औषध दुर्व्यसनी यहाँको प्रमुख समस्या रहेको कुरा उठ्यो ।


रजौरेले यो विषयलाई गम्भिरताका साथ लिइ दैनिक जसो सरोकारवालाहरुसंग समन्वय तथा छलफल गरिरहेका छन् ।


यद्यपी रजौरे आउनु भन्दा अघिनै सुर्खेत प्रहरीले जिल्लाका विभिन्न निजी तथा सार्वजनिक विद्यालयहरुमा लागूऔषध सम्बन्धी सचेतना कार्यक्रम थालेको थियो । रजौरेले पनि यसलाई तिब्रता दिए ।


लागू पदार्थ दुर्व्यसनी रोक्न प्रहरीले चलाएको अभियान हो 'युवा र बालबालिका सचेतना कार्यक्रम' ।


प्रहरी निरिक्षक शंकर श्रेष्ठले विद्यालय स्तरबाटै हुने लागूऔषध प्रयोग रोक्न यस्तो अभियान शुरु गरिएको बताए । उनले भने- 'यस अभियानबाट विद्यार्थीहरु पनि एकदमै उत्साहित भएका छन् । प्रहरीसंग बोल्नसमेत डराउने विद्यार्थीहरुमा पनि प्रहरी हाम्रा साथी रहेछन् भन्ने बोध भएको छ ।’


प्रहरीका अनुसार अभियानमा विद्यार्थी संगसंगै शिक्षक र अभिभावकलाई पनि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

 

हाल निजी विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको भएपनि आगामि दिनमा सबै सामूदायिक विद्यालयमा पुग्ने योजना रहेको रजौरेले बताए ।


उक्त अभियान अन्तर्गत जिल्लाका २० वटा निजी विद्यालयमा लागू औषध दुव्र्यसनी रोक्न सचेतना कार्यक्रम गरिसकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रमबाट करीब २ हजार विद्यार्थीले प्रशिक्षण लिएका छन् ।


सुर्खेत जिल्लामा मात्र ७२ देखि ७४ साल सम्म १३४ पुरुष र ९ महिला गरी १४३ जनालाई लागू औषधको प्रयोग तथा ओसारपसार मुद्दामा प्रहरीले पक्राउ गरेको थियो ।


उनीहरुबाट प्रहरीले १०५ किलो चरेस, ९२ किलो अफिम, ९१ किलो गाँजा, १५४ ग्राम ब्राउन सुगर लगायत लागूपदार्थ बरामद गरेको छ ।


लागू औषध दुर्व्यसनी रोक्न प्रहरीले चालेको सचेतना कार्यक्रम उचित भएको परोपकार पुनस्र्थापना केन्द्र सुर्खेतका सञ्चालक चन्द्र रावलले बताए ।


यद्धपी दुर्व्यसनीमा फसेका व्यक्तिलाई हेर्ने नजरमा भने परिवर्तन ल्याउनुपर्ने उनले बताए । रावलले भने, प्रयोगकर्तालाई अपराधी नभई रोगीको रुपमा हेरिनुपर्छ । रोगीको उपचार गरे रोग निको हुन्छ ।


विश्व स्वास्थ्य संगठनका अनुसार लागू औषध दुर्व्यसनीमा रहेका व्यक्तिलाई सजाय भन्दापनि उपचार र माया आवश्यक हुन्छ ।

 

२०७५ भदौ १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्