१३ भदौ । नेपालले इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा पहिलो पदक जितेको छ। प्याराग्लाइडिङले नेपाललाई रजत पदक दिलाएको हो। प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा नेपाल दोस्रो भएको हो। जापानले स्वर्ण जित्यो।
नेपाली टोलीमा ३४ वर्षीय विमल अधिकारी, २६ वर्षीय विजय गौतम, २९ वर्षीय सुशील गुरुङ, १७ वर्षीय युकेश गुरुङ र २६ वर्षीय विशाल थापा थिए। एसियाडमा पहिलोपटक प्याराग्लाइडिङ समावेश गरिएको हो।
यसअघि सन् १९८६ मा दक्षिण कोरियामा आयोजित १० औं एसियाडमा तेक्वान्दोलाई पहिलोपटक समावेश गर्दा नेपालले चारवटा पदक जितेको थियो। नेपालले त्यतिबेला एसियाडमा पहिलोपटक पदक जितेको थियो।
त्यसयता नेपालले एसियाडका हरेक संस्करणमा कम्तीमा एउटा पदक जितेको छ। सन् १९५१ देखि एसियाड खेल्न थालेको नेपालले हालसम्म यो महादेशीय खेलकुदमा २२ कास्य र दुई रजत पदक जितेको छ।
पछिल्ला तीन एसियाडमा नेपालले एउटामात्र पदक जितेको छ। नेपालले सन् १९९४ पछि पहिलोपटक नयाँ खेलमा एसियाडमा पदक जितेको हो। यसअघि नेपालले बक्सिङ, तेक्वान्दो र कराँतेमा मात्र पदक जितेको थियो।
एसियाडमा पदक दिलाएको नयाँ खेलका रुपमा अन्तिमपटक कराँते थियो जसमा नेपालले पहिलोपटक सन् १९९४ मा कास्य पदक जितेको थियो। त्यतिबेला सिता राईले नेपाललाई एसियाडमा कास्य पदक दिलाएकी थिइन्।
नेपालले एसियाड इतिहासमा दोस्रोपटक रजत पदक जितेको हो। यसअघि थाइल्यान्डमा सन् १९९८ मा भएको एसियाडमा सविताराज भन्डारीले तेक्वान्दोमा रजत पदक जितेकी थिइन्।
जारी एसियाडमा नेपाल विभिन्न २९ खेलमा प्रतिस्पर्धा गरिरहेको छ। यसअघि पदक दिलाएका बक्सिङ,तेक्वान्दो र कराँतेमा यसपटक नेपाल शुन्य भएको छ।
प्रतिकृया दिनुहोस्