Birendranagar Municipality

घर नै बन्यो चिहान, पीडित परिवारलाई प्रशासनद्वारा राहत प्रदान

मिना बुढाथोकी /सल्यान
घर नै बन्यो चिहान, पीडित परिवारलाई प्रशासनद्वारा राहत प्रदान

१३ भदौ । सल्यानको वागचौर नगरपालिका ४ सेतोगुराँसमा घर भत्किएर दलिन भाँचिदा एउटै परिवारका ५ जनाको ज्यान गएको छ । बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँसमा गएराति घरको भित्ता भत्किएर दलिन भाँचिदा घरमा सुतिरहेका एकै परिवारका ५ जनाको ज्यान गएको हो ।


ज्यान गुमाउनेमा घरमुलि ४० बर्षिय बुवा रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षिया रामकली कामी, छोरीहरु ७ वर्षिया गंगा विक, ६ वर्षिया प्रमिला र ४ वर्षिय रुपलाल रहेका छन् । अर्कि ९ वर्षिया छोरी सुनिता भने सामान्य घाईते भईन । रामलालका ६ छोरी र एक छोरा मध्ये जेठी छोरीको भने विवाह भैसकेको थियो ।


लगातारको वर्षाका कारण घरको भित्ता कमजोर बनेर भत्किदा घरको दलान समेत भाँच्चिएपछि घरको माथिल्लो तलामा सुतिरहेका उनिहरु तल्लो तलामा खसेका थिए ।

 

भत्किएको भित्ताले उनीहरुको मुख र टाउको च्याप्पिदा निशास्सीएर मृत्यु भएको हुन सक्ने घटना स्थल पुगेका सल्यानका प्रहरी प्रमुख डियसपी विरेन्द्र बहादुर शाहीले बताए ।

 


घटना भएको घर जंगलको छेउमा एक्लै रहेको र समयमै खवर थाहा हुन नसक्दा उद्धार नभएको स्थानियको भनाइ छ । खवर पाउने वित्तिकै राति नै प्रहरी घटनास्थल पुगेको थियो । मृतकहरुको स्थानिय घाटमा आज दाहसंस्कार गरिएको छ ।


प्रशासनद्वारा राहत वितरण

यसैबिच एकै घरका ५ जनाको मृत्यू भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय सल्यानले राहत रकम उपलब्ध गराएको छ । घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाही लगाएतको टोलीले जिल्ला प्रशासन कार्यालयको तर्फबाट राहत स्वरुप १ लाख रुपैँया प्रदान गरेको हो ।


प्रमुख जिल्ला अधिकारी ढकालले मृतक रामसिंह कामीका बुवा ७० बर्षिय देबिराम बिकलाई राहत रकम हस्तान्तरण गरेका हुन् । यस्तै बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी सहितका जनप्रतिनिधिहरुको टोली पनि घटना स्थल पुगेको थियो ।


नगर प्रमुख बुढाथोकीले मृतक रामसिंहको परिवारलाई नगरपालिकाले पनि राहत उपलब्ध गराउने बताएका छन् ।

२०७५ भदौ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्