Birendranagar Municipality

विमस्टेक बैठक आजदेखि, ६ देशका सरकार तथा राष्ट्रप्रमुख काठमाडौंमा

सेरोफेरो/काठमाडौं
विमस्टेक बैठक आजदेखि, ६ देशका सरकार तथा राष्ट्रप्रमुख काठमाडौंमा

१४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन बिहिबार दिउँसो विशेष समारोहका बीच काठमाडौंमा शुरु हुँदैछ । प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

 

सम्मेलनमा भाग लिन ६ देशका सरकार तथा राष्ट्रप्रमुख काठमाडौं ओर्लेका छन् । सम्मेलनका विशिष्ट पाहुनालाई रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थलमा स्वागत गरेका छन् ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आजै शीतल निवासमा सामूहिक भेटवार्ता र दिवा भोजको आयोजना गरेकी छन् ।

 

सम्मेलनमा भाग लिन थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहिबार बिहान काठमाडौं ओर्लेका थिए ।

 

म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक र श्रीलंकका का राष्ट्रपति मैत्रीपाला सिरिसेना यसअघिनै काठमाडौं आइसहेका छन् ।

 

भारतीय प्रधानमन्त्री मोदी आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सर्वसाधारणका लागि २ घण्टा बन्द गरिएको थियो ।

Bimstec 

यसैबीच ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार बिमस्टेकमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवगमनका बेला कालो झण्डा देखाउन सक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो ।

 

भारत र पाकिास्तानबीचको असहज सम्बन्धलाई लिएर कतिपय जानकार विमस्टेकले सार्कलाई प्रतिस्थापन गर्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भने सार्क र विमस्टेकको बेग्लाबेग्लै महत्व भएको बताएका छन् ।

 

सम्मेलनको औपचारिक उद्घाटन ताहाचलस्थित सोल्टी होटलमा दिनको ३ बजे गरिने कार्यक्रम तय गरिएको छ । बैठकमा सदस्य राष्ट्रका सरकार प्रमुखहरुले पनि सम्बोधन गर्नेछन् ।

 

प्रधानमन्त्री ओलीले पाहुनाको स्वागतमा बिहिबार साँझ होटल हायातमा आयोजना गरेको रात्रिभोजमा सदस्य राष्ट्रका कलाकारहरूले साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम छ ।

 

सम्मेलन बिहिबार र शुक्रकार २ दिन चल्नेछ । नेपालमा रहँदा केही सदस्य राष्ट्रका सरकार प्रमुख र नेपाल सरकारबीच विभिन्न विषयमा द्विपक्षीय भेटवार्ता समेत हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार बिहान बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासंग भेटवार्ता गरेका छन् । भेटपछि ओलीले आगामि दिनमा नेपाल–बंगलादेश सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास अभिबृद्धि भएको बताएका छन् ।

२०७५ भदौ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्