१४ भदौ । जिल्लाको मुसिकोट नगरपालिका–१३ घट्टेखोलाबाट २६ किलो गाँजासहित प्रहरीले एक स्थानीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६९ वर्षीय कालीबहादुर केसी रहेका छन् ।
उनले घरमा अवैध रुपमा गाँजा संचय गरी लुकाईछिपाई राखेको गोप्य सूचनाका आधारमा घरमा गई खानतलासी गर्दा उक्त गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले जनाएको छ ।
घरमा डाँठ, बोट र पातसहितको गाँजा संचय गरी राखेको अवस्थामा फेला पारिएको र केसीलाई हिरासतमा राखी अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का डीएसपी सुमित खड्काले जानकारी दिए ।
यसैबीच सानीभेरी गाउँपालिका –८ सिम्ली चौरबाट गाँजा सेवन गर्ने चारजना युवाहरुलाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । स्थानीय भद्रबहादुर ओलीको घरमा डेरा गरी बस्ने सानीभेरी गाउँपालिका –७ सहरेका तिलक रावत र उनका अन्य तीनजना साथीहरुलाई पक्राउ गरिएको हो ।
उनको साथमा पक्राउ हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका –५ दाङका २१ वर्षीय रोशन गौतम, सोही निवासी रविनराज लवत र लमही नगरपालिका –५ सुनबडरा दाङका सुरज घर्तीमगर रहेका छन् ।
उनीहरुको साथबाट प्रहरी सेवन गर्दै गरेको ५० ग्राम गाँजा सहित नक्कली पेस्तोल १ थान, खुकुरी १ थान, कटारी १ थान, फलामको नक १ थान, सरिया १ थान, चाँदीको बाला १ थान, माक्स १ थान, पञ्जा २ थान, सुल्पा १ थान, चुरोटका ठुटाहरु १० थान, लाईटर ३ थान र प्लाष्टिक बोतल १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई रुकुम जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अगाडि बढाईएको डीएसपी खड्काले बताए ।
प्रतिकृया दिनुहोस्