१५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन (डब्लूटीओ) बाट बाहिरिने चेतावनी दिएका छन् ।
डब्लूटीओको अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । ‘यदि उनीहरुले कार्यशैली बदल्दैनन् भने म डब्लूटीओबाट बाहिरिने छु’, ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले भनेका छन् ।
ट्रम्पले डब्लूटीओले अमेरिकाप्रति पक्षपातपूर्ण व्यवहार गर्दै आइरहेको आरोप केही समयदेखि लगाउँदै आइरहेका छन् । डब्लूटीओ विश्व व्यापारको थीति बसाल्न तथा देशहरुबीचको विवाद समाधानका लागि स्थापित संगठन हो ।
तर संरक्षणवादी नीतिमा जाेड दिँदै अाइरहेका ट्रम्पले डब्लूटीओले गलत व्यहवार गरिरहेको बताइरहेका छन् । राष्ट्रपति ट्रम्पको डब्लूटीओबाट बाहिरिने चेतावनीले ट्रम्पको व्यापार नीति र डब्लूटीओको खुला व्यापार प्रणालीबीच द्वन्द्व उजागर गरेकाे छ ।
डब्लूटीओको विवाद निराकरण गर्ने न्यायाधीकरण न्यायाधीशहरुको निर्वाचन आवश्यक देखिएको छ । तर याे हुन सकिरहेकाे छैन । वासिङ्टनले यसमा अवरोध पुर्याउँदै आइरहेको छ ।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथिजरले पनि अमेरिकी सम्प्रभूतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
पछिल्लो केही समययता अमेरिका व्यापारिक द्वन्द्वमा फस्दै आइरहेको छ । अमेरिका भित्रिने विदेशी सामानहरुमा अमेरिकाले अतिरिक्त कर लगाएपछि त्यो डब्लूटीओको नीतिविपरीत भएको भन्दै चीनले आलोचना गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्