मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिन्टेन्डेट डा. डम्बर खड्कासंग सेरोफेरो संवाददाता सीता वलीले गरेको शौचालय संबाद ।
शौचालय र मानव स्वास्थ्यबीच के सम्बन्ध छ?
शौचालयसंग व्यक्तिको सभ्यता जोडिएको छ । देशको अवस्था तथा व्यक्तिको व्यक्तित्व शौचालयले झल्काउँछ । शौचालय यति संवेदनशील कुरा हो कि बरु अनुहार सफा नगर्दा पनि केही हुँदैन तर शौचालय संधै सफा गर्नुपर्छ ।
शौचालयमा पानीको, सफा बाल्टी, साबुन, प्याडलाई राख्ने छुट्टै भाँडोको व्यवस्था गर्नुपर्छ । शौचालय अत्याधुनिक वा परम्परागत जे भएपनि सधैं सफा राख्नुपर्छ । घर आँगन जत्तिको सफा राख्नमा ध्यान दिइन्छ त्यो भन्दा बढि ध्यान शौचालयमा लगाउनु पर्छ ।
फोहर शौचालयबाट कसरी संक्रमण हुन्छ?
शौचालयमा मानिस दिनहुँ धेरैपटक जानुपर्छ । त्यसपछि भान्सा कोठा र अन्य ठाउँमा गइन्छ । शौचालय फोहर भयो भने त्यहाँ भएका किटाणुहरु विभिन्न माध्यमबाट मानिसमा सर्छन् । शौचालयको झिंगा भान्सा कोठामा जान सक्छ । त्यसपछि विभिन्न किसिमका रोगहरुको शिकार मानिस हुन्छ ।
त्यसैले शौचालयका लागि छुट्टै चप्पलको व्यवस्था हुनुपर्दछ । सामान्य आनीबानी तथा शौचालय व्यवहारमा परिवर्तन जरुरी छ । शौचालय भनेको फोहर कुरा हो भन्ने सोचमा परिवर्तन ल्याउनु जरुरी छ ।
शौचालय फोहर हुँदा महिलालाई बढी संक्रमण हुन्छ कि पुरुषलाई?
शौचालय फोहर भयो भने निश्चित रुपमा पुरुषलाई भन्दा महिलालाई बढी रोगको संक्रमण हुन्छ । किनकी पुरुषको भन्दा महिलाको प्रजनन् अंग बढि खुला हुन्छ ।
प्राकृतिक रुपमा नै महिलाहरु शौच गर्दा बस्नुपर्ने भएकोले पनि पुरुषभन्दा बढी असर हुन्छ । त्यसमा पनि पुरुषले उठेर भित्तामा पिशाव गर्ने, शौच गरेपछि पानी नहाल्ने वा जथाभावी फोहर गर्दापनि सजिलै संक्रमण हुन्छ ।
शौचालय संक्रमणबाट के–के रोग लाग्छन्?
शौचालयको संक्रमणबाट थुप्रै रोगहरु लाग्न सक्छन् । यसका अलावा संक्रमण वा इन्फेक्सनको सदैब डर हुन्छ ।
झाडापखाला, विभिन्न छाला सम्बन्धि रोग, भाइरल, हेपाटाईटिस र अन्य दिशा तथा हातको माध्यमबाट लाग्ने रोगहरु शौचालय फोहोर हुँदा लाग्ने प्रमुख रोग हुन् ।
शौचालय सफा राख्ने केही तरिका छन् कि?
शौचालयलाई सधैं सफा राखी विभिन्न संक्रमणबाट बच्न धेरै सावधानी अपनाउन सकिन्छ । जसका लागि शौचालयमा प्रशस्त पानी राख्नुु पर्दछ । शौचालयमा धारा भए राम्रो । धारा नभएपनि सफा भाँडोमा पानी भई राख्नुपर्छ ।
दिशा गरेपछि मात्रै होइन पिशाब गरेपछि पनि शौचालयमा पानी हाल्ने बानीको विकास गर्नुपर्छ ।
शौचालयमा हात धुनको लागि साबुन, शौचालय सफा गर्ने फिनेल वा सरफ, हात पुछ्न ट्वाइलेट पेपर वा रुमाल वा हेन्ड ड्रायर भयो भने अझ उत्तम हुन्छ ।
संक्रमण भएका व्यक्तिहरुले कहाँ कसरी उपचार गराउने?
शौचालय फोहोर भयो भने विभिन्न खालका रोग लाग्न सक्छ । त्यसका लागि केही घरेलु उपचार पनि गर्न सकिन्छ ।
झाडापखाला लागेको छ भने नुन, चिनी र पानी, जीवन जल खानुपर्छ । पानी उमालेर खानुपर्छ ।
अथवा स्वास्थ्य स्वयं सेविकासंग पनि सल्लाह लिन सकिन्छ । निको नभए अस्पतालमा जानुपर्छ ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनुनै उत्तम उपाय हो ।
प्रतिकृया दिनुहोस्