१७ भाद्र । नेपाल युवा संस्था संजाल (आयोन) कर्णाली प्रदेशले आईतबार कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री दल रावललाई पांच बुंदे मागपत्र बुझाएको छ ।
देशभर बालीकाहरु माथी भएका बलात्कार तथा हिंसाका घटना बढ्दै गर्दा कर्णाली प्रदेशमा यस्ता खालका घटना हुन नदिनको लागी पहल गर्नु पर्ने भन्दै संस्थाले मागपत्र बुझाएको आयोन कर्णाली प्रदेशका संयोजक चरित्राकुमारी केसीले बताएकी छन् ।
आयोको सदस्य संस्था मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपाल सुर्खेतको समन्वयमा अन्य सदस्य संस्थाहरु सामाजीक विकास तथा प्रर्वद्धन केन्द्र सुर्खेत, ग्रामीण विकास नेपाल कालीकोेट लगाएत युवाका क्षेत्रमा काम गरिरहेका दर्जन बढि संस्थाहरुले समेत यस कार्यमा ऐक्यबद्धता जनाएका छन् ।
स्थानिय तहका टोलटोलदेखी सबै ठांउमा बलात्कार बिरुद्धको अभियान संचालन गर्नुपर्ने, आम जनमानस देशको सुरक्षा व्यवस्थाप्रती विश्वस्त हुन सक्ने कार्यको सुनिश्चितता गर्नुपर्ने, कानुनले कसैलाई पनी विभेद नगरी दोषीलाई सजाय र पिडितलाई यथासक्य न्यायको आभाष दिलाउनुपर्ने भन्दै कर्णाली सरकारका सामाजीक विकास मन्त्रीलाई मागपत्र बुझाईएको छ ।
त्यस्तै यौन तथा प्रजनन स्वास्थ्य अधिकारका कुराहरु पाठ्यक्रममा समावेश गरि हरेक तहका कक्षामा पठनपाठन गरिनुपर्ने साथै विद्यालय बाहिर रहेका बालबालीकाहरुलाई समेत यससम्बन्धि तालीमको व्यवस्था र आत्मरक्षाको तालीम दिईनुपर्ने र यौनजन्य तथा महिला विरुद्ध हुने हिंसाको अन्त्य गर्न प्रदेश सरकार र स्थानिय सरकारले आ–आफ्नो क्षेत्रमा निती तथा कार्यक्रमको निर्माण गरि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने भन्दै पांच बुंदे मागपत्र बुझाएको हो ।
नेपाल युवा संस्था संजाल (आयोन) कर्णाली प्रदेशको माागपत्र बुझ्दै कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री दल रावलले आयोन र हुरेक नेपाल लगायत संस्थाले बुझाएको मागपत्रप्रती गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले भने ‘बलात्कारीलाई मृत्यु दण्ड दिईनुपर्ने हो तर त्यसमा नेपालको संविधान र विभिन्न अन्र्तराष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेकोले मिल्दैन । बलात्कारीलाई बांचुन्जेल जेलमा सड्न दिनु पर्छ ।’ कर्णालीमा जनता ढुक्क हुने वातावरण हामी तय गर्नेछौं ।
सामाजीक विकास मन्त्री दल रावललाई मागपत्र बुझाएपछि पत्रकारहरुसंग बोल्दै आयोन कर्णाली प्रदेशकी संयोजक तथा मानब अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपालकी कार्यक्रम व्यवस्थापक चरित्राकुमारी केसीले भनिन् ‘ कञ्चनपुरमा १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या, पोखराकी १३ वर्षीया किशोरी बेपत्ता र दुईदिनपछि शव भेटिनु जस्ता घटना सामान्य भएका छन् ।
यस्ता खालका घटनामा सरकारको ध्यान जाओस् भनी मागपत्र बुझाएका हौं ।’ उनले थपीन् ‘ देशभरमा गत आर्थीक वर्षमा १४ सय ८० बलात्कारका घटना भएको प्रहरीको तथ्याङ्क छ । यो हिसाबले दिनमा चारवटा घटना पर्न आउंछ । यसमा सरकारको गम्भिर ध्यान हुनुपर्छ । हामी र हाम्रा छोरीहरुको सुरक्षाको ग्यारेण्टी अब सरकारले लिनुपर्छ ।’

प्रतिकृया दिनुहोस्