Birendranagar Municipality

'क्याम्पस टपर' सोझै शिक्षक बन्न पाउने

सेरोफेरो/काठमाडौं

२२ भदौ । सरकारले विश्वविद्यालयमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सोझै शिक्षक बनाउने भएको छ ।

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रममा यस्तो योजना सार्वजनिक गरेको हो ।


नीतिमा ‘शिक्षण पेशामा अब्बल प्रतिभाहरुलाई प्रवेश गराउन विश्वविद्यालयका फ्याकल्टी टपहरहरुलाई सोझै शिक्षण पेशामा प्रवेश गर्न पाउने कानूनी व्यवस्था गर्ने’ भनिएको छ ।

 

त्यस्तै सरकारी विद्यालयमा करारमा शिक्षक राख्नुपर्ने ठाउँमा पनि शिक्षक सेवा आयोगले लिएको परीक्षामा वैकल्पिकमा नाम निकालेहरुलाई मात्र राख्न पाउने नीतिमा उल्लेख छ ।

 

सरकारले विद्यालयमा अलग्गै प्रधानाध्यापकको व्यवस्था गर्ने गरी नीति ल्याएको छ । यदि अलग्गै प्रधानाध्यापक नभएमा प्रधानाध्यापकको जिम्मा लिएका शिक्षकलाई धेरै कक्षा पढाउन नपर्ने व्यवस्गा गर्ने सरकारको तयारी छ ।

 

त्यस्तै सरकारले हरेक ६ महिनामा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने, एक विद्यालय एक वगैंचाको कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पनि ल्याएको छ ।


प्रधानमन्त्री कार्यालयमा कुलपति डेस्क
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको कुलपतिको हैसियतमा गर्ने कामको समन्वयका लागि छुट्टै डेस्क राख्ने तयारी गरेका छन् । हाल मुलुकका सबै विश्वविद्यालयहरुका कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ ।


प्रधानमन्त्री कार्यालयका एक सचिवलाई विश्वविद्यालय हेर्ने गरी जिम्मेवारी तोक्ने तयारी गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।

 

विश्वविद्यालयहरुका काममा विवाद र अव्यवस्था देखिन थालेपछि सम्पर्क र समन्वयका लागि उक्त डेस्क खोलिने भएको हो ।

२०७५ भदौ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्