Birendranagar Municipality

१० सामूदायिक क्याम्पस एमयुका आँगिक क्याम्पसमा रुपान्तरण

सेरोफेरो/सुर्खेत
१० सामूदायिक क्याम्पस एमयुका आँगिक क्याम्पसमा रुपान्तरण

२२ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १० सामूदायिक क्याम्पसलाई आंगिक क्याम्पसमा रुपान्तरण गरेको छ । विश्वविद्यालयले साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र तथा हाल प्रदेश ५ र कर्णाली प्रदेशमा रहेका विभिन्न १० क्याम्पसलाई आंगिकमा रुपान्तरण गरेको हो ।

 

भदौ १० गते बसेको विश्वविद्यालय सभाको आठौं बैठकले भदौ ११ देखि लागू हुने गरी ती क्याम्पसलाई आंगिक क्याम्पसमा रुपान्तरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

MU2

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले सम्बन्धित क्याम्पसमा क्याम्पस प्रमुख समेत नियुक्त गरेका छन् ।

 

कार्यक्रममा उपकुलपति कोइरालाले नवनियुक्त क्याम्पस प्रमुखहरुलाई विश्वविद्यालयको ऐन नियमको अधीनमा रही कसैको प्रभावमा नपरी तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । उनले भने, 'यहाँहरु अब कसैले जागीर खाइदेला भनेर डराउनु पर्दैन। डर अब केबल रातो किताबको मान्नुहोस् । नीति नियमको अधीनमा रही कार्य गर्नुहोस् ।'

 

उपकुलपति कोइरालाले बच्चा जन्माउन भन्दा हुर्काउन धेरै गार्‍हो हुने भन्दै ती क्याम्पसहरुलाई यस अवस्थासम्म ल्याउन योगदान दिने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं सरोकारवालाहरु सबै धन्यबादको पात्र भएको बताए ।

MU1

आंगिक क्याम्पसको रुपमा रुपान्तरण हुनेमा बबई बहुमुखी क्याम्पस, बर्दिया, बागेश्वरी बहुमुखी क्याम्पस, बाँके, मुसिकोट खलंगा बहुमुखी क्याम्पस, रुकुम, भेरी ज्ञानोदय क्याम्पस, जाजरकोट, भेरी शिक्षा क्याम्पस, सुर्खेत, जलजला बहुमुखी क्याम्पस, रोल्पा, रारा बहुमुखी क्याम्पस, मुगु, विधापुर जनता बहुमुखी क्याम्पस, सुर्खेत, नारायण क्याम्पस, दैलेख, तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोट रहेका छन् ।

 

कार्यक्रममा प्रदेश सभाका सदस्य, जनप्रतिनिधि, विश्वविद्यालयका पदाधिकारीहरु, आंगिकमा रुपान्तरण भएका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं क्याम्पस प्रमुख, विश्वविद्यालयमा सक्रिय विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । 

२०७५ भदौ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्