Birendranagar Municipality

भक्तपुर नेमकिपाको लालकिल्ला

भक्तपुर नेमकिपाको लालकिल्ला

सेरोफेरो
६ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकालाई आफ्नो पोल्टामा पारेको छ । राजधानी काठमाडौंसंग जोडिएको उक्त नगरपालिकामा मेयर, उपमेयर, १० वडाका अध्यक्ष र ५० सदस्यसहित उसले एकलौटी जित हासिल गरेको हो ।


नेमकिपाका महासचिव समेत रहेका सुनील प्रजापति भारी मत अन्तरले मेयर पदमा विजयी भएपश्चात् भक्तपुर नेमकिपाको लालकिल्ला बनेको हो । उनले नेपाली काँग्रेसका उमेदवार रामप्रसाद कसुलालाई १९ हजार ३६ मतले पछि पारेका थिए । प्रजापतिले २५ हजार पाँच सय ६८ मत प्राप्त गरेका थिए ।

 

प्रजापति २०५६ सालको संसदीय निर्वाचनमा भक्तपुर २ बाट निर्वाचित संसद हुन् । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन ढलेपछि व्यवस्थापिका संसदमा मनोनित प्रजापति अन्तरिम संविधान मस्यौदा समितिका सदस्य समेत रहेका थिए । २०६४ मा उनी भक्तपुर २ बाटै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।



संसदीय निर्वाचनमा समेत जित हासिल गर्दै आएको नेमकिपाले भक्तपुरका जनतालाई खुशी पार्न सकेको स्थानीयहरु बताउँछन् । पत्रकार रमेश दनेखुका अनुसार नेमकिपाले जनजीविकासंग सम्बन्धित स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुली जस्ता विषयमा जनतासंग प्रत्यक्ष काम गरेको छ । उनी भन्छन्–‘भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेज यसको उदाहरण हो ।’ भोट माग्दा सुनील प्रजापतिले शिक्षाको विकास गरी भक्तपुरलाई बौद्धिक नगरीका रुपमा स्थापित गर्ने बताएका थिए ।

 

संविधान निर्माणका क्रममा नेमकिपा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र हिमाल पहाड तराईसहितको संघीयताको पक्षमा रहेको थियो । जसका कारण नेमकिपा राष्ट्रिय एकता र अखण्डता चाहने पार्टी हो भन्ने जनतामा परेको थियो ।


भक्तपुरका जनताले नेमकिपालाई यतिसम्म विश्वास गर्नुको अर्को कारण हो– अध्यक्ष नारायणमान विजुक्छेको स्वच्छ छवि । दनेखु भन्छन्– ‘उनले जनतालाई अहिलेसम्म ढाँटेका छैनन् । निर्वाचित भएपछि पनि कुनै पदको लोभमा परेका छैनन् । पार्टीका एजेण्डा र राष्टिय मुद्दा निरन्तर उठाएका छन् ।’


भक्तपुरमा नेवार जातिको बाहुल्य छ जसमध्ये अधिकाँश कृषि पेशामा संलग्न छन् । भक्तपुरको समग्र विकासमा नेमकिपाको हात रहेको जनविश्वास छ । निर्वाचनका बेला नेमकिपाले ख्वप विश्वविद्यालय स्थापना गरी भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने, ख्वप अस्पताल निर्माण गर्ने, नदीलालाको सरसफाई गर्ने लगायत विषयमा केन्द्रित आकर्षक नारा लगाएको थियो ।

२०७४ जेठ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्