२७ भदौ । जुनसुकै गन्तव्यमा जाने यात्रुलाई बसपार्कमा अमर्यादित तरीकाले तानातान गरेको देख्नुभएको छ ?
छ भने यहाँलाई कस्तो लाग्छ ? नराम्रो लागेको छ भने खुशीको खबर छ । अब बसपार्कमा यात्रु तानातान गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित बसपार्कमा यात्रु तानातान गर्ने ७ जनालाई प्रहरीले कारबाही गरेको छ । यात्रु तानातान गरेको अवस्थामा मंगलबार ६ जना र बुधबार २ जनालाई प्रहरीले पक्राउ गरी कानुन बमोजिम कारवाही गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यस्तो आरोपमा मंगलबार पक्राउ पर्नेमा वीरेन्द्रनगर ९ का २५ बर्षीय चक्रबहादुर शाही, कालीकोट खाँडाचक्र नगरपालिका १ का २३ बर्षीय अर्जुन मल्ल, सुर्खेतको गुर्भाकोट नगरपालिका ६ का १८ बर्षीय महेश सोमारे मगर, जुम्लाका १९ बर्षीय रमेश शाही र अछाम तुर्माखाँद गाउँपालिका ७ का १८ बर्षीय नमराज न्यौपाने छन् ।
यसैगरी वीरेन्द्रनगर ९ का २८ बर्षीय नकेन्द्र खत्री र वीरेन्द्रनगर ६ का सन्दीप परियारलाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको छ ।
बस व्यवसायीहरुलेनै बसपार्कमा हुने यस्तो व्यवहार अमानवीय भन्दै आएका थिए । सुर्खेतका एक बस व्यवसायीले भने, 'यस्तो गर्दा यात्रुले ढुक्कसंग आफू जाने ठाउँ र भाडाबारे बुझ्न पाउँदैनन् । कतिपय अवस्थामा त यात्रु बाटैमा अलपत्र भएको समेत पाइएको छ ।'
प्रतिकृया दिनुहोस्