२७ भदौ । कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ ।
केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
८३ दशमलव ६५ किलोमिटर लम्बाइ रहने केवलकारमा ६ वटा स्टेशन रहनेछन् । पहिलो शुरुवाती स्टेशन वीरेठाँटीमा हुनेछ । त्यसपछि घोरेपानी, तातोपानी, लेते, मार्फा, कागबेनी र मुक्तिनाथ स्टेशन रहनेछ ।
आयोजनाको कूल लागत करीब ३५ अर्ब हुने बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए। गत वैशाख १५ गते बसेको बोर्डको ३० औँ बैठकले सो केवलकार निर्माणसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको थियो । बोर्डले मुक्तिनाथ दर्शन प्रालिलाई आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो ।
समझदारीपत्रमा हस्ताक्षर भएको मितिले १८ महीनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार पारी बोर्डसमक्ष पेश गर्नुपर्ने प्रवक्ता वाग्लेले जानकारी दिएका छन् ।
नेपालमा निजी क्षेत्रबाट केवलकार निर्माण शुरु भई सञ्चालनमा आएको करिब डेढ दशकपछि सार्वजनिक निजी साझेदारी अवधारणामा हालसम्मकै लामो केवलकार निर्माण गर्न लागिएको हो ।
पछिल्लो पटक नेपालमा केवलकार निर्माणका लागि स्थानीय तहले नै पहल गर्दै आएको छ । मनकामना केवलकार र चन्द्रागिरिमा केवलकार निर्माण भई सञ्चालनमा आइसकेको छ । यस्तै दोलखाको कालीञ्चोकमा समेत केवलकार निर्माण सम्पन्न हुने चरणमा छन् ।
हाल देशभर दुई दर्जनभन्दा बढी स्थानमा केवलकार निर्माणका लागि पहल भइरहेको छ ।
प्रतिकृया दिनुहोस्