Birendranagar Municipality

त्रिवि सभाद्वारा २१ अर्ब १० करोड बरावरको बजेट पारित

सेरोफेरो/काठमाडौं
त्रिवि सभाद्वारा २१ अर्ब १० करोड बरावरको बजेट पारित

२ असोज । त्रिभुुवन विश्वविद्यालय (त्रिवि) सभाको साधारण बैठकले आर्थिक वर्ष २०७५/०७६ को लागी रु २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैया बरावरको बजेट पारित गरेको छ ।

 

प्रस्तावित बजेटमा रु ११ अरव ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानको रुपमा माग गर्ने र बाँकी रु ९ अरब ७९ करोड ६ लाख २८ हजार आन्तरिक श्रोतबाट बेर्होने प्रस्ताव गरिएको हो ।


त्रिवि सधाको साधारण बैठकको अध्यक्षता गर्दे प्रधानमन्त्री एवं कुलपति के.पी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक बनाउने सक्षम दक्ष जनशक्ति निर्माण गरेर विश्वकै अब्बल विश्वविद्यालयको रुपमा त्रिभुवन विश्वविद्यालय अघि वढ्नुपर्ने बताए ।

 

शिक्षाक्षेत्रमा क्षमताका अधारमा जिम्मेवारी प्रदान गरिने भन्दै प्रधानमन्त्री ओलीले मुलुकको श्रोत र साधन अनुकुल आफ्ना नीति कार्यक्रम निर्धारण गरी सञ्चालन गर्न समेत त्रिविलाई सुझाव दिए।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणी पोखरेलले विश्वविद्यालयको अध्ययन उत्पादनशिल हुनुको साथै राष्ट्रको आवश्यकता अनुकुल हुनुपर्ने बताए । मुुलुकमा अब परम्परागत विषयमा भन्दा मौसम परिवर्तन, आर्थिक विकास र प्रविधि लगायतका विषयमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने मन्त्री पोखरेलको भनाइ छ ।

 

त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाले त्रिविले नेपालको समस्त क्षेत्रको विकासका लागी आवश्यक जनशक्ति तयार गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न, कला, विज्ञान, प्रविधि तथा व्यवसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक र समय सापेक्ष बनाउन स्थापनाकालदेखि नै क्रियाशिल रहेको बताए ।

 

‘‘विकासका लागि त्रिवि भिजन – २०३०’’ तयार गरी कार्यान्वयन गर्न लागिएको भन्दै खनियाले सम्पूर्ण अध्ययन संस्थान, सङ्काय, केन्द्रीय विभाग एवम् आङ्गिक क्याम्पसहरुलाई उत्कृष्टताको केन्द्रको रुपम विकास गर्ने बताए ।

 

सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा वनस्पतीशास्त्रका प्रा.डा मोहनप्रसाद पन्थी र शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा कृष्णप्रसाद गौतमको नाम समेत अनुमोदन गरेको छ ।


कार्यक्रमा रजिष्ट्रार डिल्लीराम उप्रेतिले आर्थिक वर्ष २०७५/०७६ को लागी प्रस्ताव बजेट पेश गरेका थिए । बजेट छलफलमा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक डा.अरुण ठाकुर, सामुदायिक क्याम्पसका संघका सभापति भोलानाथ ओझा, जनप्रशासन क्याम्पसका स्ववियु सभापति पंकज क्षेत्री, नेपाल प्राध्यापक संघका सभापति रामेश्वर उपाध्याय, नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा. मिर्गेन्द्र बहादुर कार्की ,त्रिवि पूर्व शिक्षाध्यक्ष प्रा.डा राममान श्रेष्ठ लगायतले टिप्पणी गरेका थिए ।

 

यस अवसरमा शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले सभा सञ्चालन गरेकी थिइन् ।

२०७५ असोज २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्