Birendranagar Municipality

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन संविधानले महत्वपूर्ण योगदान गरेको छ : राष्ट्रपति भण्डारी

सेरोफेरो/काठमाडौं
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन संविधानले महत्वपूर्ण योगदान गरेको छ : राष्ट्रपति भण्डारी

३ असोज । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । २०७२ असोज ३ गते संविधान जारी गरेको दिनलाई नेपालले संविधान दिवसको रुपमा मनाउदै आएको छ ।

 

राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा नेपाली जनतालाई दिईएको सन्देश ।

 

"संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको महत्वपूर्ण दिनको अवसरमा आज असोज ३ गते हामी हर्षोल्लासपूर्वक संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस घडीमा म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्‌भाव र सहकार्य कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

नेपालको संविधान जारी भएपश्चात संवैधानिक प्रावधानको मर्म र भावना बमोजिम स्थानीय तह र प्रदेश एवं संघीय संसदको निर्वाचनसम्पन्न भएको छ । बहुलवाद र बालिग मताधिकारका आधारमा भएको निर्वाचनबाट जननिर्वाचित संस्थाहरू गठन भई संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान पुगेको छ । मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउने संवैधानिक मार्गचित्रले मूर्त रूप लिने वातावरण बन्नु सबैका निमित्त खुशीको विषय हो भन्ने मैले ठानेको छु । यसका निमित्त देशमा क्रियाशील सबै राजनीतिक दल, जनप्रतिनिधि, आमजनतालगायत सम्बद्ध सबै पक्षलाई यस ऐतिहासिक अवसरमा पुनः बधाई एवं धन्यवाद दिन चाहन्छु ।

 

संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको यस महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अंग र आमनागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ । आजको दिनले सम्बद्ध सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षा लिएको छु ।

 

अन्तमा, नेपाली जनताको लामो संघर्ष, बलिदान र दृढ संकल्पबाट प्राप्त ऐतिहासिक उपलब्धिको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र देशविदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई म आव्हान गर्दछु ।"

धन्यवाद

मितिः २०७५ साल असोज ३ गते बुधबार ।

 

२०७५ असोज ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्