Birendranagar Municipality

नेपालगंजबाट सिमकोट सामान ढुवानीमा नीजि एयरलाईन्सको मनोमानि

रत्न भण्डारी/ हुम्ला
नेपालगंजबाट सिमकोट सामान ढुवानीमा नीजि एयरलाईन्सको मनोमानि

४ असोज । नेपालगंजबाट सिमकोटका लागि ढुवानी हुने सामानको दररेटमा नीजि एयरलाईन्सहरुले मनोमानी गरेको पाइएको छ ।


मानसरोवर जाने भारतीय पर्यटकको आउने समय सकिएको र यातायातको एक मात्र साधन हवाई यातायात भए पछि नेपालगंजबाट सिमकोटका लागि जाने नीजि एयरलाईन्सहरुले मनोमानी भाडा असुली रहेको गुनासो आएको छ ।


नेपालगंज सिमकोटका लागि सामान पठाउँदा प्रतिकेजी एक सय १५ रुपैयाँ दर भए पनि यतिबेला नीजि एयरलाईन्सले एक सय पचास रुपैंयाँ सम्म लिने गरेको सिमकोटकी ब्यापारी बिजया बोहोराले बताइन ।


केही दिन अघिमात्र ब्यापारीक प्रयोजनको लागि सात क्वीन्टल सामान प्रतिकेजी एक सय चालिस रुपैयाँमा आफुले लिएको र भाडा बढ्नुको कारण सोध्दा नीजि एयरलाईन्सले बरु तपाईको सामान झार्नुहोस् भनेपछि आफू महङ्गो भाडा दिएर सामान लिन बाध्य बएको उनले बताइन ।


सिमकोटका लागि यो समयमा नेपालगंजबाट सिता, तारा र समिट एयरले उडान भर्दै आएका छन । नेपालगंजबाट सामान ढुवानीको दर एयरलाईन्सै पिच्छे फरक भएको र मनपरी रुपमा ढुवानी दर लिने गरेको सिमकोटको किनमेल स्टोरका संचालक राज बहादुर हमालले बताए ।


यात्रुको पहुँच हेरेर एक सय ३५ देखि एक सय ६० रुपियासम्म प्रतिकेजी सामानको ढुवानी तिरेर सामान ढुवानी गर्न बाध्य भएको ब्यापारीहरुको गुनासो छ ।


शुक्रवार मात्र प्रतिकेजी एक सय ३५ रुपियाँमा ११ क्वीन्टलमा सामान ढुवानी गर्न लागेका पानस सपिङ सेन्टरका जितु रावतले सिमकोटमा पसल खाली भएपछि चर्को ढुवानी दर तिरेर सामान पठाउन बाध्य भएको बताए ।


मनोमानी ढुवानी शुल्क लिने गरेको सम्बन्धमा तारा एयरका नेपालगंज इन्चार्ज दिलीप कार्कीसंग बुझ्दा उनले आफ्नो एयरलाईन्सले एक सय १५ देखि ट्रेकिङको सामान प्रतिकेजी एक सय ४० सम्म लिने गरेको स्वीकार गरे ।


यसरी सामानको ढुवानी दर बढ्दा अहिले सिमकोटमा सामानको मुल्य पनि १० देखि १५ प्रतिशतसम्म बृद्धि भएको सिमकोटका स्थानीयबासी नन्द सिंहको भनाई छ ।


चाडपर्व नजिकिदै गरेको समयमा सामानको मुल्य बढ्दा जनता मारमा परेको उनले गुनासो गरे ।

२०७५ असोज ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्