७ असोज । गाँउपालिकाको कर्मचारी र नेपाल राष्ट्र बैंकको लापरवाहीले एउटा गाँउपालिकाको रकम पठाउने क्रममा अर्को गाँउपालिकामा गएको छ ।
बैंकले पनि राम्रोसंग नहेरी रकम ट्रान्सफर गर्दा सिमकोट गाउँपालिकाको एक करोड ५७ लाख ५२ हजार ६ सय ६७ रुपियाँ खार्पुनाथको खातामा जम्मा भई खर्च हुँदा सिमकोट गाउँपालिका अहिले समस्यामा परेको छ ।
सिमकोट र खार्पुनाथ गाउँपालिकाको लेखा प्रमुख एउटै व्यक्ति भएकोले कामको चाप र बैंकको लापरवाहीले आफ्नो गाउँपालिकाको रकम खार्पुनाथ गाउँपािलकामा गएर खर्च भएको देखिन आएको सिमकोट गाँउ
पालिकाका अध्यक्ष पदम वहादुर लामाले बताए । मासिक तथा चौमासिक रुपमा खर्चको बिबरण तयार नगर्दा यो समस्या भोग्नु परेको उनको भनाई छ ।
सिमकोटको खाताबाट खार्पुनाथको खातामा ट्रान्सफर भएको रकम अन्तर्गत ६९ लाख ९२ हजार ३ सय ३४ रुपियाँ पुँजीगत र ८७ लाख ५९ हजार तीन सय ३३ रुपियाँ चालु तर्फ रहेको अध्यक्ष लामाले बताए ।
खार्पुनाथ गाउँपाकिाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबिर शाहीले यसरी आएको रकम शिक्षकको तलव भत्ता, आमा सुरक्षा कार्यक्रम, सिंचाई, खानेपानी, बाटो जस्ता बिकासे कार्यक्रममा खर्च भएको बताए ।
मासिक रुपमा खर्चको बिबरण तयारी नगर्दाको परिणती भएको बताउदै शाहीले यसरी अर्कोको खाताको रकम ट्रान्सफर भएको कुरा गत साउनमा मात्र थाहा भए पछि समस्या देखिएको र गल्तीले खार्पुनाथ गाउँपालिकाको खातामा आएको सिमकोट गाउँपालिकाको रकम फिर्ता गर्ने बताए ।
सिमकोटको रकम खार्पुनाथमा ट्रान्सफर भएपछि सिमकोट गाउँपालिकामा संचालित कार्यहरु अधुरा रहेका छन ।
बैंक प्रबन्ध ठानसिंह बिष्टका अनुसार असारमै गाउँपालिकाले खबर गरेको भए तत्काल रकम फिर्ता गर्न सकिने थियो । भदौमा मात्र थाहा भएपछि तत्काल समस्या समधान गर्न नसकिएको भन्दै उनले अब दुबै पक्ष बसेर समस्या सुल्झाउनु पर्ने धारणा राखे ।
यसै बिच एक गाँउपालिकाको रकम अर्कोमा ट्रान्सफर भएको सन्दर्भमा सिमकोट गाउँपालिकाका १३ जना युवाले यथार्थ कुरा बाहिर ल्याउन जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरेका छन् ।
यस्तो कार्य निक्कै गैर जिम्मेवार भएको भन्दै सत्य कुरा बाहिर ल्याउन ज्ञापन पत्र पेश गरिएको कमल बोहोराले बताए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले रकम ट्रान्सफरका वारेमा यर्थाथ के हो तीन दिन भित्र बास्तबिकता पेश गर्न गाउँपालिकालाई स्पष्टीकरण सोधेको छ ।
प्रतिकृया दिनुहोस्