८ असोज । कर्णाली प्रदेशको जुम्ला जिल्लामा छाउपडी मुक्त अभियान पेचिलो बन्दै गएको छ । जिल्लाका विभिन्न गाउँहरु छाउगोठ मुक्त घोषणाको क्रममा छन् । यस अभियानमा स्थानिय धामी र झाँक्रीहरुले सारथीको रुपमा काम गरिरहेका छन् ।
कर्णाली लगायात जुम्लामा अहिले पनि छुई प्रथा विद्यामान छ । अशिक्षा, जनचेतनाको अभाव र पारिवारिक बन्देजले यो प्रथा अहिले पनि हट्न सकेको छैन् । यहाँका घर, धारा, पँधेरा, विद्यालय, मन्दिर तथा सार्वजनिक स्थलमा समेत खुलेआम महिनावारी (छुई) भएको बेला महिला र किशोरीलाई प्रवेश निषेध छ ।
चेतनाको विकाससंगै पछिल्लो समयमा जुम्लाका ग्रामीण बस्तीहरु धमाधम छुईगोठ मुक्त घोषणा भईरहेका छन् । यसलाई महिलामा आएको शसक्तिकरणको फल पनि मान्न सकिन्छ । अभियानमा जुम्लाका स्थानिय तह भने सक्रिय देखिएका छन् ।
जुम्लामा रहेका सात गाउँपालिका मध्य केहि गाउँपालिकाको सक्रियतामा बस्ती छुईमुक्त भईरहेका छन् । यसैक्रममा भर्खरै तातोपानी गाउँपालिका १ नम्बर वडाको वाँईराँका गाउँलाई छुईगोठ मुक्त गाउँ घोषणा गरिएको छ । वाँईराँका गाउँका स्थानियको सहभागितामा गाउँलाई छुईगोठ मुक्त घोषण गरिएको हो ।
छुइगोठ मुक्त अभियानमा धामी र झाँक्रीको सक्रियता :
जुम्लामा छाउगोठ मुक्त अभियानमा महिला तथा धामी झांक्रीको सहयोग उल्लेख्य देखिएको छ । बदलिदो परिबेश अनुसार सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिबृद्धिका कारण गाउँबस्तीहरु छुईगोठ मुक्त घोषणा हुने क्रम बढ्दो छ । गाउँमा रहेका विभिन्न समुह सहकारीले गरेको छलफल तथा चेतना अभिबृद्धिको परिणाम नै गाउगोठ मुक्त घोषणाको लहर शुरु भएको छ ।
यस अभियानमा गाउँका महिला, धामी झांक्रीहरु सामाजिक कुसंस्कार विरुद्धको महान लडाईमा सक्रियका साथ लागी परेका छन् । महिनावारी हुँदा अब गोठमा नभई सरसफाईका साथ घरमै बस्नुपर्ने सन्देश धामी झाँक्री र महिलाहरुले गाउँगाउँमा दिनुले समेत यो अभियान अगाडी बढेको पाईन्छ । लामो प्रयास पछि गाउँलाई छुईगोठ मुक्त घोषणा गरेपछि महिलाहरु खुसी भएका छन् ।
वाँईराँका गाउँकी स्थानीय महिला गाडे सार्कीले भनीन्, हामी जीवन जिउन नजानेर पछि परेका रैछौं । किरा फट्यांग्राले टोक्ने, बलात्कारमा पर्न सक्ने डर मनमा पालेर गोठमा बस्नु पर्ने बाध्यताबाट छुटकरा मिलेको छ , मलाई आज धेरै खुशी लागेको छ । सार्कि जस्तै वाईराँका गाउँका महिला छुईगोठ मुक्त गाउँ घोषण भएपछि खुशी भएका छन् ।
नौ गाउँबस्ती छुईगोठ मुक्त :
भर्खरै छाउगोठ मुक्त भएको तातोपानी गाउँपालिका १ को वाईराकाँ वस्ति जिल्लाको नवौ वस्ति हो । यस अघि तातोपानी कै हियाँखोला, श्रीनगर र जैतपुर छाउगोठ मुक्त भईसकेका छन् । तिला गाउँपालिकाको रावतवाडा, जोगीवाडा, ढिमकोट तथा पातासारी गाउँपालिकाको माथिल्होर्प र तलिल्होप रहेका छन् । अहिले उक्त वस्तिहरुमा महिनावारी भएको अवस्थामा घरभित्र बस्ने गरेका छन् । जिल्लाका अधिकाशं गाउँमा छाउगोठ मुक्त घोषणामा सर्वोदय नेपाल र स्थानिय तहले समन्वय गर्दै आईरहेका छन् ।
प्रतिकृया दिनुहोस्