Birendranagar Municipality

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको शुभकामना

सेरोफेरो /काठमाडौं
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको शुभकामना

१५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली ज्येष्ठ नागरिकहरुप्रति सुस्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गरेका छन् ।


ज्येष्ठ नागरिकहरु अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली—ओराली पार गर्दैै असीम ज्ञान, सीप र अनुभव संगालेका देशका आदरणीय बुबा-आमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गरेका छन् ।


‘ज्येष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्वपूर्ण हुन्छ । त्यसैले एक पटक फेरि म ज्येष्ठ नागरिकको हक, हित संरक्षण र सम्वर्धनका लागि सरकारको प्रतिवद्धता दोहोर्‍याउन चाहन्छु’ उनले भनेका छन् ।


‘यसले गर्दा समाजमा आउँदा दिनमा ज्येष्ठ नागरिकहरुको जनसंख्यामा वृद्धिहुँदै जानेछ । तर बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवन शैली र रोजगारीका लागि युवाहरुको विदेशिने क्रमका कारण घर—घरमा ज्येष्ठ नागरिकहरु एक्लिएका छन्,’ प्रधानमन्त्रीले भनेका छन् ‘कतिपय अवस्थामा ज्येष्ठ नागरिकहरुले आफन्तबाटै अपहेलित र उपेक्षित भएर जीवन बिताउनु परेको छ । सरकार ज्येष्ठ नागरिकका यस्ता समस्याप्रति गम्भीर छ ।’


प्रधानमन्त्रीले बृद्ध बाबुआमाको रेखदेख पारिवारिक वातावरणमा हुन सकेको खण्डमा फरक पुस्ता बीचको अन्तरक्रिया बढ्ने उल्लेख विश्वास लिएका छन् ।


‘अग्रजका अनुभवबाट छोरा-नाति पुस्ताले पनि शिक्षा ग्रहण गर्न सक्दछन् । त्यसैले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन् भन्ने कुरा हामीले कहिल्यै भूल्नु हुँदैन,’ प्रधानमन्त्रीले भनेका छन् ।


संयुक्त राष्ट्र संघको आव्हानमा यस वर्ष ‘ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौं’ भन्ने मूल नाराका साथ असोज १५ गते सोमबार जेष्ठ नागरिक दिवस मनाइदैछ ।


यस अवसरमा नेपाल सरकार, महिला—बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गर्दैछन् ।

यसैगरी मुलुकभरी रहेका विभिन्न सरोकारवाला संघ संस्थाले पनि रचनात्मक कार्यक्रम गरि दिवस मनाउने तयारी गरेका छन् ।

 

२०७५ असोज १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्