Birendranagar Municipality

जेष्ठ नागरिकको आशा: परिवारले जस्तै राज्यले हामीलाई मायाँ गरोस्

सेरोफेरो -सुर्खेत /सल्यान 
जेष्ठ नागरिकको आशा: परिवारले जस्तै राज्यले हामीलाई मायाँ गरोस्

१५ असोज । संयुक्त राष्ट्र संघको आव्हानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौं भन्ने मूल नाराका साथ सोमबार जेष्ठ नागरिक दिवस मनाइएको छ ।


यस अवसरमा वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा वीरेन्द्रनगर नगरपालीका सुर्खेतको सहयोगमा, जिल्ला जेष्ठ नागरिक संघ लगाएतका संघसंस्थाहरुले एक कार्यक्रमको आयोजना गरे ।


पछिल्लो समय जनसंख्यामा वृद्धि हुँदा, र बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवनशैली एवं रोजगारीका लागि युवाहरुको विदेशिने क्रमका कारण घर-घरमा ज्येष्ठ नागरिकहरु एक्लिएको कुरा बाहिर आइरहेका छन् ।


कतिपय अवस्थामा ज्येष्ठ नागरिकहरुले आफन्तबाटै पिडाबोध गरेर जीवन बिताउनु परेको छ । कतिपय अवस्थामा आमाबुवाहरुलाई छोराछोरीले नै हेपाहा व्यवहार गरी जेष्ठ नागरिकलाई अपहेलित र उपेक्षित गरेको र कोहीले बृद्धाआश्रममा छोडेको बताउँछिन् जिल्ला ज्येष्ठ नागरिक संघ सुर्खेतको कोषाध्यक्ष डम्बर आचार्य ।


उनी भन्छिन् ‘कर्णाली प्रदेशमा समग्रमा वृद्धाहरुको अवस्था निकै नाजुकछ । कसैले यक्लै जिवन विताउनु परेको छ भने कसैलाई छोराछोरीले बृद्धाआश्रममा छोडेको पाईन्छ ।’


सरकारले नै बुवाआमालाई नहेर्ने छोराछोरीलाई कारवाहि गर्नु पर्ने उनको तर्क छ । उनको बिचारमा जेष्ठनागरिकको सवालमा राज्य सकारात्मक नभएसम्म उनीहरुले दु:ख पाइरहन्छन् ।

IMG_8689


त्यस्तै प्रशान्ति वृद्धाआश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले कर्णाली प्रदेशमा आम जेष्ठनागरिकलाई दिवा सेवा, तथा भ्रमणको व्यवस्था सरकारले गरिदिनुपर्ने बताउँछन् ।

 

भन्छन् ‘पछिल्लो समय घरका सबै व्यक्तिहरु व्यस्त हुने गरेका छन् । छोराछोरी जागीर र नाती नातिनी पढ्न जाने भएकोले बुढा बुढिहरु घरमा एक्लै बस्नुपर्दा मानशिक रोगको सिकार भएका छन् । यसमा समेत कर्णाली सरकारले सोच्नुपर्ने बेला आएको छ ।’


त्यस्तै वीरेन्द्रनगर ६ की ६६ वर्षीय बृद्धा तुल्सी थापाले आफुहरुलाई सरकारले विभिन्न धार्मीक तथा पर्यटकिय स्थलहरुको भ्रमण तथा टोलटोलमा दिवा सेवाको व्यवस्था गरिदिनुपर्ने धारणा राखिन् ।


उनले भनिन् ‘केहि भत्ता दिएर मात्रै हामीहरुलाई हुँदैन । बुढेशकालमा घुम्ने रहर बढि हुन्छ । तर त्यो छोराछोरीले गर्न सक्दैनन् । गर्न खोजेपनि कसैका छोाराछोरी पनि हुदैनन् र कामको शिलशिलामा बाहिर गएका हुन्छन् । त्यसैले सरकारले संरक्षण गर्नुपर्छ ।’


यसैगरी वीरेन्द्रनगर ४ भैरवस्थानका ७१ वर्षीय बृद्ध कलाधर अधिकारीले परिवारको अवस्था राम्रो भएपनि भएका दुईभाई छोरा काठमान्डौं तिर भएको र आफुुहरु यक्लै घरमा बस्नु परेको बताए । सरकारले बृद्धहरुलाई सम्मानको कार्यक्रम तथा बुवाआमालाई हेला गर्नेका लागी कडा कानुन ल्याउनुपर्ने उनको भनाई छ ।


कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री दल रावल कर्णाली प्रदेशमा जेष्ठनागरिकहरुका लागी विशेष किसीमको कार्यक्रम ल्याएको दावि गरे ।


भने ‘हामीले जेष्ठनागरिकको सम्मान गर्नुपर्दछ । त्यसको लागि प्रत्येक जिल्लामा दिवा सेवा तथा बृद्धाआश्रमको स्थापना गर्ने, बृद्धहरुलाई विभिन्न धार्मीक तथा पर्यटकिय स्थालहरुमा भ्रमणको समेत व्यवस्था गर्ने योजनामा छौं ।’


उनले थपे ‘कर्णाली प्रदेशका विभिन्न गाउँपालीका तथा नगरपालीकाले आफ्नो नीति अनुसार जेष्ठनागरिकका लागी काम गरेको जिकिर गरे ।


दशै खर्च स्वरुप शारदा नपाले जेष्ठनागरिकलाई लियो दुई हजार

4

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शारदा नगरपालिका तथा जेष्ठ नागरिक जिल्ला संघ सल्यानले जिल्लाको सदरमुकाममा रहेको टुडिखेलमा एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।


दिवसको अवसरमा नगरपालिका भित्र रहेका ८० वर्ष भित्रका जेष्ठ नागरिकलाई सम्मान स्वरुप दुई हजार रुपैयाँ वितरण गर्न सोमबारबाट शुरु गरेको जनाएको छ । ‘वर्षको एक पटक हामीले दशैं खर्च भनेर दुई हजार रुपैंया वितरण गर्न शुरु गरेका छौं’ नगर प्रमुख सुरेश अधिकारीले भने ।


जेष्ठ नागरिकलाई दिएको दुई हजार रुपैयाँले नेपालीहरुको महान चाड दशैं तिहारका बेला घरमा आउने चेलीबेटीलाई टिका दक्षिणा गर्न पनि सहज हुने भन्दै यस रकमलाई आवश्यक काममा खर्च गर्न अनुरोध गरे ।


यस्तै जेष्ठनागरिक संघ सल्यानले पनि नगरभित्रका ९० वर्ष पुगेका २० जना जेष्ठ नागरिकलाई दोसल्ला, पांँचसय नगद तथा प्रमाण पत्र प्रदान गरी सम्मान गरेको छ ।

२०७५ असोज १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्