१९ असोज । कर्णाली प्रदेशसभाका प्रमूख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले संघीयता कार्यान्वयनको एक वर्षे अनुभवले गाउँका नागरिकमा निराशा छाएकोे बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत जिल्लाको उत्तरी क्षेत्रको एक साता लामो भ्रमण गरेर सदरमुकाम सिमकोट पुगेका शाहीले नयाँ संविधान अनुसार संघिय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको पहिलो वर्षमा भएका गतिविधिका आधारमा गाउँका नागरिकमा निकै निराशा छाएको बताए ।
‘संघीयताले गाउँमा सिंहदरबार ल्याएको भन्दै शुरुको चरणमा नागरिकमा निकै उत्साह थियो’ नेता शाहीले भने ‘हाम्रा तीनवटै तहका सरकार र हामी जनप्रतिनिधिले देखाएका व्यवहार र गरेका गतिविधिले जनताका आशा पुरा नहुने भएपछि जनतामा निरासा छाएको छ ।’
प्रेस युनियन हुम्लाले शुक्रबार सिमकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कंग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता शाहीले स्थानीय तहमा विकासे बजेट बिनियोजन देखि खर्च गर्ने काममा समेत निकै मनपरि भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
‘स्थानीय सरकारका रुपमा रहेका गाउँपालिकामा बोल्ने र अध्यक्षसँग नजिक भएका वडा अध्यक्षले आफ्नो वडामा बढी रकम लिएर मनपरी खर्च गरेका छन्’ शाहीले भने । त्यसलाई नियमन गर्ने र ठाउँमा ल्याउने निकायको कमी भएको उनको जिकिर थियो ।
प्रतिकृया दिनुहोस्