२० असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गरिने वताएका छन् ।
जिल्ला समन्वय समितिले जुम्ला सदरमुकाममा शनिबार आयोजना गरेको स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तर मुख्यमन्त्री शाहीले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘कर्णालीको केन्द्रमा रहेको जुम्लाले विगतमा पनि भोट र भारतसंग व्यापार गर्थ्यो’, मुख्यमन्त्री शाहीले भने– ‘जुम्लाको व्यापारले गर्दा हिजोका दिनमा कर्णाली उत्पादन र अर्थतन्त्रमा आत्मनिर्भर थियो ।’
चीन र भारत जोडने द्रुतमार्ग निर्माण गरेर पनि जुम्लालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बनाउने पहल भैरहेको शाहीले बताए ।
मुख्यमन्त्री शाहीले ३ वटै तहका सरकारहरुबीचको आपसी समन्वयमा मात्रै संघीयतालाई सफल बनाउन सकिने बताए । संघीयताका विरुद्ध प्रतिगामी शक्तिहरुले विभिन्न भ्रम श्रृजना गर्ने गरेको भन्दै मुख्यमन्त्री शाहीले स्थानीय तहका सरकारहरु यस्ता भ्रमबाट सचेत हुनुपर्ने बताए ।
कर्णालीको विकासका लागि प्रदेश सरकार स्थानीय तहसंग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताउँदै कर्णालीमा रहेको श्रोत साधनको उच्चतम उपयोग गरेर जनताको अपेक्षा पूरा गर्न सकिने पनि उनले बताए । उनले भने, ‘फापर, स्याउ र आलु बेचेरै हामी धनी हुन्छौं, चाउचाउको पछि नलाग्नुस् ।’
अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले स्थानीय तहलाई आवश्यक कानुन छिटै तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जुम्लाका आठै स्थानीय तहका प्रमुखहरुले आफ्नो क्षेत्रमा भएका विकास निर्माण र भोग्नुपरेका समस्याहरुबारे जानकारी गराएका थिए ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालवहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका भौतिक निर्माण तथा पूर्वाधार मन्त्री खड्कबहादुर खत्री, प्रदेश सभा सदस्य दीनवन्धु श्रेष्ठ, कुर्मराज शाही, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी प्रमुख सिताराम रिजाल लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्