२१ असोज । चाडपर्वको सम्मुखमा जिल्लामा चामलको अभाव शुरु भएको छ ।
राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लामा चार महिनादेखि चामल अभाव हुँदा ग्रामीण भेगमा बढी समस्या देखिएको छ ।
हुम्लाका सर्केगाड र श्रीनगर डिपो पनि दुई महिनाअघि नै रित्तिइसकेका थिए । दुई डिपो र तीन वटा बिक्री केन्द्र खाली हुँदा साविकका ११ गाविसका बासिन्दाले अनुदानको चामल पाएका छैनन् ।
डिपो नै खाली भएपछि चार वटा बिक्री केन्द्र चार महिनादेखि बन्द छन् । संस्थानको चामल महङ्गो हुँदा बजारको चामल नै खानुपर्ने उपभोक्ताको बाध्यता छ ।
विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि खाद्यान्न बोक्ने ठूला गाडीहरू सहज रूपमा सिमिकोट पुग्न सक्ने अवस्था छैन । जसले गर्दा व्यापारीले जसोतसो गरी ल्याएको चामल किन्न उपभोक्ताबीच तानातान हुँदै आएको छ ।
हुम्ला सदरमुकाम सिमिकोटमा दुई सय ६८ क्विन्टल चामल मौज्दात छ । तर गाउँमा चामल अभाव छ । संस्थानको हुम्ला शाखा प्रमुख रामबहादुर बिष्टका अनुसार मौज्दात चामल दशैं र तिहारमा सदरमुकामकै बासिन्दालाई प्रति रासन काड ५ केजीका दरले बाँड्ने क्रम जारी छ ।
हुम्लाका अधिकांश ठाउँमा धानखेती हुँदैन । सोही कारण भान्सामा चामलको भात प्रायः कमै पाक्ने गर्छ । यहाँका जनतालाई प्राय फापर, कोदो र मकैको ढिँडोले पेट भरे पनि चाडपर्वमा सेतो चामलको भात खाने धोको हुन्छ ।
तर यस पटकको दशैंमा हुम्ला सदरमुकाम बाहिरका साविकका २७ वटै गाविसका बासिन्दाको भात खाने धोको पुरा हुने लक्षण देखिएको छैन ।
दशैंको घटस्थापना शुरु हुन केहि दिन मात्र बाँकी रहँदा पनि संस्थानबाट चामल ढुवानी हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस्