२५ असोज । सुर्खेतका खम्पा जातिहरुको अगुवाईमा निर्माण हुन लागेको ‘ठिल्ले ताक्तेन लिङ बौद्ध गुम्बा’ को शिलान्यास गरिएको छ ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिङ बुढाले बिहिबार गुम्बाको मुख्य भवनको शिलान्यास गरेका हुन । सन् २०१६ बाट वीरेन्द्रनगरको रातानाङ्लामा निर्माणाधिन यो गुम्बा २०२१ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
गुम्बाको लागि ५.१३ रोपनी क्षेत्रफल वीरन्द्रनगरका हरिलाल रोकायले उपलब्ध गराएका हुन्, जो यस गुम्बा निर्माण व्यवस्थापन समितीको अध्यक्ष समेत छन् ।
तिब्बतका गुरु ह्याङ्से रिम्पोछेले यस गुम्बाको गुरुको रुपमा लामा पेमा ग्याल्पो रोकायलाई नियुक्त गरेका छन् । सुर्खेती खम्पा जातिका रोकायले २५ वर्ष लामा पढेका छन् ।
शिलान्यासपछि मन्त्री बुढाले गुम्बालाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिने बताए । भने ‘सुर्खेत आएका पर्यटकलाई एकदिन अड्याउने ठाउँ यो गुम्बा बन्नेछ ।’
ठिल्ले ताक्तेन लिङ बौद्ध गुम्बा निर्माणका लागि मन्त्रालयले २० लाख रुपैंया छुट्याएको छ । यो गुम्बा कर्णाली प्रदेशकै ठूलो हुने खम्पा जातिको दावि छ ।
गुम्बाका सल्लाहकार बीर बहादुर रावतले रकमलाई सदुपयोग गर्न उपभोक्ता समितीलाई आग्रह गरे ।
यस्तो बन्नेछ गुम्बा
करिब ६ करोडमा बन्दै गरेको उक्त गुम्बामा ३ वटा भवन बन्नेछन् । क्षेत्रफलको वरीपरि कोठाहरु निकालिनेछ । जहाँ जेष्ट नागरिकको पढाई, ध्यान र आराम गर्ने ठाउँ बनाइने छ । जसमा एकैपटक १५० देखि २०० जना बस्न सक्ने योजना छ ।

गुम्बाको बिच भागमा एक करोडको मुर्ति राखिने छ । हाल ८ फुट र साढे ६ फुटको गौतम बुद्ध र गुरुको मुर्ति आइसकेको छ ।

गुम्बा निर्माणका लागि सुर्खेतका केही व्यक्ति तथा संस्थाहरुद्वारा करिब १० लाख रुपैंया सहयोग आउने रमेश लामाले बताए । उनले गुम्बा निर्माणका लागि सहयोग गर्न सबैलाई अपिल समेत गरे ।
प्रतिकृया दिनुहोस्