Birendranagar Municipality

पत्रकार खाशोग्गीको ‘हत्या’पछि साउदी–अमेरिका सम्बन्धमा दरार

देशसञ्चार
पत्रकार खाशोग्गीको ‘हत्या’पछि साउदी–अमेरिका सम्बन्धमा दरार

२७ असोज । डेढ वर्षअघि कतारमाथि नाकाबन्दी लगाउन एकठाउँमा उभिएका साउदी अरेबिया र संयुक्त राज्य अमेरिकाको सम्बन्ध एकाएक चिसो पलाएको छ।

 

साउदी अरेबियाका पत्रकार टर्कीबाट बेपत्ता भएपछि अमेरिकासँगको सम्बन्ध गम्भीर मोडतर्फ धकेलिएको हो।

 

के हो घटना?

साउदी अरेबियाका पत्रकार तथा सरकारका आलोचक जमाल खाशोग्गी एक सातायता बेपत्ता छन्। विवाहका लागि कागजपत्र लिन दूतावास छिरेका खाशोग्गी फिर्ता आएनन्।

 

उनलाई बाहिर कुरेर बसेकी उनकी प्रेमिका अलपत्र थिइन्। टर्कीको इस्तानबुलस्थित महावाणिज्य दूतको कार्यालय छिरेका खाशोग्गीलाई त्यसपछि अहिलेसम्म कसैले देखेका छैनन्।

 

टर्कीको प्रशासनिक निकायले खाशोग्गीको हत्या भएको दावी गरेको छ। उनको शरीरलाई व्यवस्थापन गरिसकेको दावी गरिएको छ।

 

‘साउदी अरेबिया सरकारकै आदेशमा एउटा खुफिया टोलीले खाशोग्गीको हत्या गरेको हो,’ टर्कीका प्रशासनीक अधिकारीहरुलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय समाचार संस्थाले लेखेका छन्।

 

यस विषयमा साउदी अरेबिया सरकारको कडा प्रतिक्रिया आएको छ। खाशोग्गी एक्लै भवनभित्र पसेको र यदि साउदी अरेबिया सरकार संरक्षित व्यक्तिहरुले उनलाई केही गरेको भए त्यसको लिखित र रेकर्डेड प्रमाण देखाउन चेतावनी दिएको छ।

 

साउदी अरेबिया सरकारले भनेको छ, ‘खाशोग्गीको हत्या हाम्रो सरकारले गरेको भन्ने कुनै सुरक्षा प्रमाण र क्यामेराको फुटेज छ?’

 

तर, आरोपी पक्षले साउदी अरेबियाले जवाफ दिनैपर्ने बताएको छ। ‘किन खाशोग्गी हराउने बित्तिकै १५ जना साउदीका नागरिक निजी विमानमा उडेँ?,’ आरोपी पक्षको प्रश्न छ, ‘यदि उत्तर आएन भने विश्वले साउदी अरेबियामाथि गम्भीर प्रश्न गर्ने छ।’

 

योजनाबद्ध हो वा अपहरण गरेर हत्या भएको भन्ने विषयमा प्रष्ट नभएपनि खाशोग्गीको हत्या भइसकेको दावी गरिएको छ।

खाशोग्गीको आरोप

खाशोग्गीले साउदी अरेबियाका राजकुमार मोहम्मद बीन सलमान सुधारकभन्दा पनि दुष्ट शासक रहेको आरोप लगाउँदै आएका थिए।

 

उनले हजारौँ अधिकारकर्मीलाई पक्राउ गरेका छन्। लेबनानका प्रधानमन्त्री शाद हरिरीलाई पनि बन्धक बनाएका थिए। उनको उद्देश्य विश्वभरका मानिसले बुझिरहेका छन्।

 

खासोगी अक्टोबर २ तारिखमा हराएका थिए। उनी टर्कीमा बसेर वासिङ्टन पोस्टका लागि काम गर्थे। पत्रकार खाशोग्गी साउदी अरेबिया सरकारका आलोचक भएकाले उनलाई त्यति रुचाइएको थिएन। उनी हराउनु र त्यसपछिका घटनामा साउदी सरकारको संलग्नता रहेको दावी गरिँदै आएको छ।

 

अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले पनि यो मुद्दामा ध्यानाकर्षण भएको जनाएका छन्। ट्रम्पले खाशोग्गीकी प्रेमिकालाई सहयोग गर्ने बताएका छन्।

 

उनले साउदी अरेबियाले यसको उत्तर पनि दिनुपर्ने बताएका छन्। पत्रकार खाशोग्गी बेपत्ता भएपछि दुई देशको राजनीतिकसँगै आर्थिक सम्बन्धमा प्रभाव पार्ने देखिएको छ।

२०७५ असोज २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्