Birendranagar Municipality

सहकारीले समाजवाद ल्याउँछ : सभामुख शाही

सेरोफेरो/सुर्खेत
सहकारीले समाजवाद ल्याउँछ : सभामुख शाही

२७ असोज । सहकारीले समावाद ल्याउने कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार सम्पन्न जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

 

उनले भने, ‘जनताले नयाँ व्यवस्था चाहन्छन् । नयाँ व्यवस्था अनुसार कानुन जनतामुखी हुन्छ र जनताका हरेक आवश्यकताहरु परिपूर्ति हुन्छन् । हरेक वर्ग, लिङ्ग, धर्म तथा विपन्न वर्गको उत्थान र सम्वृद्धि नै समाजवाद हो ।’

 

समाजवादको मेरुदण्ड नै सहकारी भएको पनि सभामुख शाहीले बताए । उनले थपे, ‘सहकारी समाजवादको महत्वपूर्ण माध्यम हो । समाजवादको लक्ष्य सहकारीले पूरा गर्दछ ।’

 

सभामुख शाहीले सहकारीको प्रभावकारी प्रयोग बिना राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन नसकिने भन्दै संघीय तथा प्रदेश सरकारले सहकारी सम्बन्धि ऐन तथा नीति नियम बलियो बनाएर अगाडि बढ्नुपर्ने बताए । शाहीले कार्यक्रममा कर्णाली प्रदेश सरकारले समेत बलियो तथा दीर्घकालीन सहकारी ऐन बनाउने प्रतिवद्धता व्यक्त गरे ।

 

त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभाका सांसद यामलाल कंडेलले जनताको धनको संरक्षण गर्नका लागि सहकारीको स्थापना भएको बताए । उनले भने, ‘शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउनको लागि यस संस्थाले गरेको प्रयास सराहनीय छ । यहाँ बालबालिका, युवा, ज्येष्ठ नागरिकलगायत सबैलाई समेटिएकोले यो सहकारी विशेष छ ।’ कंडेलले सहकारी नै देश विकासको उत्तम बाटो भएको बताए ।

 

यस्तै कर्णाली प्रदेश सभाका सदस्य राजु नेपालीले जनहितकारी सुर्खेतको मात्रै नभएर कर्णाली प्रदेशकै उत्कृष्ट सहकारी भएको बताइन् ।

 

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष हरिहरनाथ योगीले प्राकृतिक श्रोत साधनले भरिपूर्ण कर्णाली प्रदेशको सम्बृद्धिको लागि जनहितकारी अगाडि बढेको बताए ।

 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष नवराज कंडेलले आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

 

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/७५ मा संस्थाले ४१ करोड ८७ लाख ५० हजार १ सय ५१ रुपैयाको पूँजी वृद्धि गरेको छ । यस्तै आगामि वर्ष ५१ करोड १ लाख ५१ हजार २ सय ९३ रुपैया पूँजी बृद्धिको लक्ष्य राखेको छ ।

 

संस्थामा झण्डै ५ हजार सेयर सदस्य रहेका छन् ।

२०७५असोज २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्