Birendranagar Municipality

रहेनन् सञ्चार उद्यमी ज्ञवाली

सेरोफेरो
रहेनन् सञ्चार उद्यमी ज्ञवाली

२८ असोज । सञ्चार उद्यमी हेमराज ज्ञवालीको निधन भएको छ । ७९ बर्षीय ज्ञवालीको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा उपचारको क्रममा शनिबार साँझ निधन भएको हो ।

 

चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन्। नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवाली कान्तिपुर पब्लिकेसनको पनि संस्थापक अध्यक्ष थिए। २०४७ को संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टी गरेसँगै ज्ञवालीसहितको टोलीले २०४९ फागुन ७ गते कान्तिपुरको प्रकाशन गरेको थियो ।

 

सरकारी सेवामा रहेका बेला प्रमुख जिल्ला अधिकारीका रूपमा ज्ञवालीले सुर्खेतलाई बस्नयोग्य सहर बनाएको पत्रकार किशोर नेपालले स्मरण गरे। अर्थ मन्त्रालयको सहसचिव रहँदा ज्ञवालीले निजीकरण कार्यान्वयनमा गरेको योगदान स्मरणणीय छन् ।

 

पत्रकार युवराज घिमिरे ज्ञवालीलाई सरल मान्छेका रूपमा पाएको बताए। आफू कान्तिपुर दैनिकमा सम्पादक हुँदा अध्यक्ष ज्ञवालीबाट कुनै हस्तक्षेप नभएको पनि घिमिरेले स्मरण गरे। विपरीत विचारलाई पनि स्थान दिनुपर्छ भन्ने सम्पादकको भनाइलाई ज्ञवालीले सधैं स्वीकार गरेको स्मरण गर्दै घिमिरेले भने, ‘मेरो कार्यकाल सधैं सुखद रह्यो। उहाँमा कुनै दम्भ र अहं कहिल्यै झल्केन।’

 

भुवनेश्वर र पूर्णकुमारीका कोखबाट १९९५ साल चैत १७ गते रामनवमीका दिन गुल्मी जिल्लाको मानकोटमा जन्मिएका ज्ञवालीले वाराणसी संस्कृत विश्वविद्यालयबाट शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका थिए। २०१७ देखि सरकारी सेवामा प्रवेश गरेका ज्ञवालीले २०४४ सम्म तत्कालीन श्री ५ को सरकारको सेवामा प्रमुख जिल्ला अधिकारी, महानिर्देशक र सहसचिव जस्ता पदमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए।

 

अध्यात्म र सनातन धर्मप्रति आस्थावान् ज्ञवालीका भन्सार प्रशासन एक विवेचना, योगवाशिष्ठसार, माण्डूक्योपनिषद्, पुष्पाञ्जलि, पौरखी पुर्खा र मेरो जीवनका पानाहरू, हाम्रो बद्री केदार यात्रा, हनुमान स्मृतिसहित दर्जन बढी कृति प्रकाशित छन्। कला, साहित्य, संस्कृतिसहितका विषयमा निरन्तर कलम चलाउँदै आएका ज्ञवालीले विभिन्न धर्मग्रन्थको नेपालीमा अनुवाद गरेका छन्।

 

उनका धर्मपत्नी लग्क्ष्मी र तीन छोरा विनोदराज ज्ञवाली, अच्युतराज ज्ञवाली र धु्रवराज ज्ञवाली छन्। स्वर्गीय हेमराज ज्ञवालीको शनिबार राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो।

२०७५ असोज २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्