Birendranagar Municipality

पटाका प्रहरीलाई बुझाइदिन अनुरोध

सेरोफेरो/सुर्खेत
पटाका प्रहरीलाई बुझाइदिन अनुरोध

८ कार्तिक । तिहारमा प्रयोग हुने कुनै पनि किसिमका पटाका तथा आतसबाजी प्रहरीलाई बुझाउन अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहिबार एक सूचना जारी गरी यस्तो अनुरोध गरेको हो ।

 

तिहार नजिकिंदै गर्दा सुर्खेतको बजार क्षेत्रमा पटाका ओसारपसार, सञ्चय तथा विक्रि वितरण बढेको छ । बिभिन्न किसिमका पटाका तथा आतसबाजी सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ७ बिष्फोटक पदार्थ सम्बन्धी कसुरको दफा १३८ उपदफा ३ मा आतसबाजी, पटाकालाई समेत बिष्फोटक पदार्थको रुपमा परिभाषित गरिएको र सोही दफाको उपदफा २ (ग) बमोजिम ३ बर्ष सम्म कैद र ३० हजार रुपैयासम्म जरिवानाको ब्यबस्था गरिएको हुँदा कुनै पनि प्रकारको पटाका तथा आतसबाजीहरुको बिक्रि बितरण, ओसारपसार, सञ्चय तथा प्रयोग नगर्न नगराउन सूचना गरेको हो ।

 

यस्तै प्रहरीले पटाका तथा आतसबाजीहरु राखिएको भए नजिकको प्रहरी कार्यालयमा बुझाई दिन समेत व्यापारी तथा व्यवसायीहरुसंग आग्रह गरेको छ ।

२०७५ कार्तिक ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्