९ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामलाई निर्वाचन आयोगले वैधता दिएको छ।
आयोगमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नाम जुधेको भन्दै दर्ता खारेजीको माग गर्दै उजुरी दिएका थिए। निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवको इजलासमा नामलाई लिएर बुधबार बहस भएको थियो।
यादवको इजलासले उक्त विवादमा फैसला सुनाउँदै कट्टेलको नेपाल कम्युनिष्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम नमिल्ने ठहर गरेको हो। निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) विगतमा रहेका दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एकीकृत भएका कारण दर्ता कायमै रहेको अवस्थामा खारेज नहुने बरु स्वत: दर्ता कायम रहनेसमेत उल्लेख गरेको छ।
सत्तारुढ नेकपाको २०७५ साल जेठ २३ गतेको निर्णयसमेत कानुन संगत रहेको फैसलामा उल्लेख गरेको छ। तत्कालिन एमाले र माओवादी केन्द्रले २०७५ जेठ ३ गते पार्टी एकीकरणका लागि आयोगमा निवेदन दिएका थिए।
नेपाल कम्युनिष्ट पार्टी नाम आयोगमा पहिलादेखि नै दर्तामा रहेको आयोगले एकीकृत दललाई समेत सो नामसँग मिल्दोजुल्दो नाममा सहमति दिएको थियो। सुरुवातमा नेपाल कम्युनिष्ट पार्टीले नाममा अण्डरलाइन गरेर आयोगमा दर्ताका लागि निवेदन दिएको थियो। तर पछि आयोगले अण्डरलाइन गरेको नाम दर्ताका लागि अस्वीकार गरेको थियो।
यो फैसलासँगै आयोगले नाम जुधेको भन्दै कट्टेलको निवेदन समेत खारेज गरिदिएको छ।
प्रतिकृया दिनुहोस्