Birendranagar Municipality

प्रहरी प्रदेश सरकारको मातहतमा बस्नुपर्छ : शाही

सेरोफेरो/सुर्खेत
प्रहरी प्रदेश सरकारको मातहतमा बस्नुपर्छ : शाही

१२ कात्तिक । प्रदेश सरकार र प्रहरीबीच उचित तालमेल हुन सकेमात्र कर्णाली सुरक्षित प्रदेश बन्ने मुख्मन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मूल नारा सहित आइतबार शुरु भएको समूदाय प्रहरी साझेदारी अभियानको उद्घाटनमा शाहीले यस्तो बताएका हुन् ।

 

उनले भने, ‘नेपाल प्रहरी संघीय सरकारको मातहतमा छ । न त गल्ती गर्नेहरुलाई कारवाही गर भन्ने अधिकार छ, न सुरक्षाका विषयमा नै बोल्ने अधिकार छ । प्रदेश सरकारले केबल प्रहरीको गतिबिधि हेरेरे बस्नु परेको छ ।’ द्वन्द्वकालमा आफूले कमाण्डरको भुमिका निर्वाह गरेको स्मरण गर्दै शाहीले भने, 'सुरक्षा संयन्त्र कसरी सञ्चालन गर्नुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ ।’ 

 

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले समूदाय प्रहरी साझेदारी अभियानले समाजमा शान्ति सुरक्षा तथा अमनचयन ल्याउन सहयोग गर्ने बताए ।

 

यस अभियानले प्रहरीप्रतिको जनविश्वास बढाउने तथा स्थानीय तहलाई पारदर्शी र सुरक्षित बनाउने लगायतका कामहरु गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी महेशविक्रम शाहले बताए ।

 

२०७५ कात्तिक १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्