Birendranagar Municipality

भरतपुर अस्पतालका पूर्वअध्यक्ष भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर

सेरोफेरो
भरतपुर अस्पतालका पूर्वअध्यक्ष भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर

चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डाक्टर भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर भएका छन्। उनलाई विशेष अदालतले एक वर्ष कैद र १ करोड १८ लाख जरिवाना सुनाएको हो।

 

अख्तियारले उनलाई २०७२ सालमा अकुत सम्पत्ति कमाएको भन्दै मुद्दा लगाएको थियो। सोहि मुद्दामा फैसला गर्दै विशेषका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठको इजलासले उनलाई कैद र जरिवानाको फैसला सुनाएको रजिष्ट्रार भिमकुमार श्रेष्ठले जानकारी दिए।

 

अख्तियारले श्रेष्ठसँग १ करोड ६७ लाख ९७ हजार १ सय १३ रूपैयाँ अवैध सम्पत्ति रहेको भन्दै मुद्दा चलाएको थियो। विशेषले भने अख्तियारले दाबी गरेकोमध्ये ४८ लाख ९० हजार ३ सय ३७ रुपैयाँ श्रेष्ठको वैध सम्पत्ति रहेको र बाँकी १ करोड १८ लाख ६६ हजार रूपैयाँ अवैध ठहर्‍याएको हो।

 

उक्त अवैध सम्पत्ति जफत हुने पनि फैसलामा उल्लेख छ। अवैध ठहरिएको जति नै रकम उनले जरिवानाका रूपमा बुझाउनुपर्ने फैसलामा भनिएको छ। विशेषले श्रेष्ठकी श्रीमती शिलुलाई भने सफाइ दिएको छ। उनले भरतपुर क्यान्सर अस्पतालमा फुड सप्लायरको रूपमा काम गर्थिन्।

२०७५ कात्तिक १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्