२६ कात्तिक । सरकारले प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराईलाई नियुक्त गरेको छ । आइतबार राती बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियुक्ति गरेको हो ।
भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्व सांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् ।
आइतबारकै मन्त्रिपरिषद् बैठकले झापाका इन्द्र भण्डारीलाई प्रधानमन्त्रीको स्वकीय सचिवमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।
यस्तै ईपिजीका अर्का सदस्य निलाम्बर आचार्यलाई सरकारले भारतको राजदुतमा सिफारिस गरेको छ । आचार्य पूर्व कानुनमन्त्री समेत हुन् ।
मन्त्रिपरिषद बैठकले मलेसियाका लागि उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्स (युएई) का लागि कृष्ण ढकाललाई राजदूत सिफारिस गरेको छ। पाण्डे यसअघि साउदी अरबका राजदूत थिए भने ढकाल परराष्ट्र मन्त्रालयकै सह–सचिव हुन्।
सरकारले नेपाल प्रहरी अस्पतालकी प्रमुख डाक्टर दुर्गा थापालाई प्राविधिकतर्फको एआइजी नियुक्त गरेको हो। गृह मन्त्रालयले उनलाई असोज २४ गते एआइजीमा बढुवा सिफारिश गरेको थियो।
प्रतिकृया दिनुहोस्